हङकङलाई ६ विकेटले हराउँदै नेपाल च्याम्पियन

हङकङलाई ६ विकेटले हराउँदै नेपाल च्याम्पियन

काठमाडौं–नेपालले एसीसी यु–१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियामा भएको प्रतियोगितामा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले प्रतियोगिताको उपाधि उचालेको हो । हङकङलाई हराउँदै उपाधि जितेको नेपाल यु १९ एसिया कपमा छनोट भएको छ ।९६ रनको लक्ष्य नेपालले १६ दशमलव १ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

ओपनर रित गौतमलाई १३ रनमा गुमाएको नेपालको ईनिङ्स पवन सरार्फले उकासेका थिए । पवनले ३६ बलमा ५ चौका र १ छक्काको मदतले ३९ रन बनाएका थिए । कप्तान रोहित पौडेल १२ रनमा आउट हुदाँ खड्ग बहादुर बोहरा ८ रनमा पोविलियन फर्किए । भीम सार्कीले ८ रन बनाउँदा हरीबहादुर चौहान शुन्य रनमा अविजित रहे ।

यसअघि, क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभर १ बलमा अलआउट हुँदै ९५ रन बनायो ।खराब सुरुवात गरेको हङकङले रनको खाता नखोल्दै महत्वपूर्ण २ विकेट गुमाएको थियो । तर, आदित गोरावाराले २४ तथा काल्हन चल्लुले १९ रन जोड्दै हङकङको इनिङ्स उकासेका थिए । यस्तै रौनक कपुरले १२ रन बनाए ।

हङकङलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले किफायती बलिङ गरे । १० ओभरमा ५ मेडनसहित १८ रन खर्चेर सागरले ५ विकेट लिए ।यस्तै कमल सिंह ऐरीले ३ विकेट लिए । कुशल मल्ल र तिलक राज भण्डारीको नाममा एक एक विकेट रह्यो ।उपाधि सहित एसिया कपमा छनोट भएको नेपालले टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित खवर