झापामा असार २१ गतेसम्म १२७ जना बालबालिका, महिला र वृद्धा बलात्कृत

झापामा असार २१ गतेसम्म १२७ जना बालबालिका, महिला र वृद्धा बलात्कृत

झापा–झापासहित देशभरका बाल बालिकामाथि हुने बलात्कार लगायत अन्य आपराधिक घटनाहरू बढेसँगै यसको न्यूनीकरण तथा रोकथामका लागि नेपाल प्रहरीले झापामा विद्यालय स्तरीय सचेतनामूलक अभियानलाई तीव्रता दिएको छ। प्रहरी कार्यालय झापाको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०७५र०७६ असार २१ गतेसम्म झापामा १२७ जना बालबालिका, महिला र वृद्धा बलात्कृत भएका छन्, भने ४२ जनामाथि बलात्कारको प्रयास भएको उजुरी दर्ता भएको छ।

बलात्कारका भएका घटनासम्बन्धी उजुरी जिल्लाका प्रहरी कार्यालयहरूमा धमाधम पर्न थालेपछि प्रहरी कार्यालय झापाले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत १८ वर्षमुनिका बालबालिकालाई अपराध न्यूनीकरण र त्यसबाट बच्ने उपाय सम्बन्धित सचेतनामूलक अभियान थालेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले जानकारी दिए। यसै क्रममा प्रहरी कार्यालय झापाको आयोजना तथा प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयको सहआयोजनामा आइतबार बिहान भद्रपुरका दुई निजी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अपराध न्यूनीकरणसम्बन्धी प्रशिक्षण दिइएको छ।

प्रज्ञा एकाडेमी भद्रपुरमा आयोजित कार्यक्रममा एमरल्ड एकाडेमी र विभूति विद्या मन्दिर भद्रपुरका कक्षा १२ मा अध्ययनरत छात्रछात्रालाई अपराध न्युनिकरण तथा रोकथाम सम्बन्धी सचेतनामूलक प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रमको सहजीकरण गर्दै प्रहरी कार्यालय झापाका एसपी मैनालीले समाजमा हुने अपराध न्यूनीकरणका लागि प्रहरी गाउँघरका टोलरटोलमा खटिन थालेको बताउँदै पछिल्लो समयमा समाजको शान्ति सुव्यवस्था कायम गर्न प्रहरी सफल भएको उल्लेख गरे। उनका अनुसार शान्ति सुरक्षा कायम गर्न प्रहरी सफल हुँदाहुँदै पनि गाउँघरमा अहिले पनि बालबालिका र महिलामाथि हिंसात्मक घटना रोकिएको छैन। एसपी मैनालीले अहिले लागुऔषध दुरुपयोग, साइबर अपराध, बालबालिका र महिलामाथि बढी हिंसात्मक घटना हुने गरेको प्रहरी तथ्यांकले देखाएको बताए। उनले भने, ‘त्यसको रोकथाम तथा न्यूनीकरण गर्न प्रहरीले विद्यालय र विद्यार्थीलाई रोजेको र यस अभियानलाई जिल्लाभरका विद्यालयलाई लक्षित गरी तीव्रता दिएका छौं।’ ‘प्रहरी समाजको लागि हाउगुजी नभएर अहोरात्र खटिने नागरिकको नजिकको साथी हो’, उनले भने, ‘प्रहरीको निरन्तर सक्रियताका कारण झापामा चोरी, तस्करीसँगै ठूला आपराधिक क्रियाकलापमा कमी आउन थालेको छ।’

प्रहरी प्रतिको डरको सट्टा माया र सद्भाव कायम राख्दै जिल्लाको शान्ति सुरक्षालाई मजबुत बनाउन प्रहरी कटिबद्ध रहेको उनको भनाई छ। त्यस्तै प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयबाट आएका प्रहरी नायव उपरीक्षक (डिएसपी) रञ्जन दाहालले सहभागी विद्यार्थीलाई सहजीकरण गर्दै जबरजस्ती करणी (बलात्कार) सम्बन्धी घट्नामा १८ वर्ष मुनिका बालबालिका ६४ प्रतिशत रहेको र ३० प्रतिशत बलात्कारका घटना आफन्तजनहरू बाटै हुने गरेको बताए। यस्ता घट्नालाई रोक्न नेपाल प्रहरीले झापासहित देशका ७७ वटै जिल्लामा विद्यालयस्तरीय सचेतना अभियान चलाइरहेको बताए। उनले भने, ‘सामाजिक विकृति र विचलनका कारण देशमा ४० प्रतिशत अपराध २५ वर्ष मुनिका बालबालिकाबाट हुँदैछ।’ ‘यस्तो बढ्दो अपराधलाई रोक्न विद्यार्थी एकजुट भएर अघि बढे मात्र रोक्न सकिन्छ’, उनले बताए।

सम्बन्धित खवर