भारत मुम्बईमा वर्षाका कारण पर्खाल भत्किँदा १८ जनाको मृत्यु

भारत मुम्बईमा वर्षाका कारण पर्खाल भत्किँदा १८ जनाको मृत्यु

मुम्बई–भारतको मुम्बईमा मंगलबार बिहान २ बजेदेखि आएको अविरल वर्षाका कारण पर्खाल भत्किँदा १८ जनाको मृत्यु भएको छ । अरु ६ जना घाइते भएका छन् । ज्यान गुमाउनेको परिवारलाई सरकारले ५ लाख क्षतिपूर्ति दिने मुख्यमन्त्री देवेन्द्र फदनाभीसले बताएको सञ्चारमाध्यमहरुले जनाएका छन् । बिहानदेखिको भारी वर्षाले मुम्बईबाट मादगाउँ जाने रेलवेसमेत अवरूद्ध भएको छ ।

मुम्बईका लागि उडेका ५५ हवाई जहाजलाई अन्यत्रै पठाइएको छ । ५२ उडान रद्द गरिएको छ । वर्षा शुक्रबारसम्म जारी रहने जनाइएको छ । भारी वर्षाका कारण मुम्बईमा जनजीवन कष्टकर बनेको छ । शहरका विभिन्न भागमा पानी जमेका कारण मेट्रो र रेल–वे सेवासमेत अवरुद्ध बनेको छ । ट्राफिक व्यवस्था अस्तव्यस्त बनेका कारण क्याम्पस तथा विद्यालय अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएका छन् । पानीका कारण कयौं सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । प्रतिघण्टा २० मिलिमिटरका दरले आएको पानी घर–घरमा पसेकाले अधिकांश मानिसका सरसामान नष्ट भएका छन् ।

तीन दिनदेखि लगातारको वर्षाका कारण जमेको पानी पन्छाउने प्रयास गरिए पनि भारी वर्षाका कारण सम्भव नभएको उद्धारकर्मीहरुले जनाएका छन् ।
मुम्बईस्थित अन्तर्रा्ष्ट्रिय विमानस्थलको मूख्य धावनमार्गसमेत बन्द भएको छ । विमानस्थलको वैकल्पिक धावनमार्गबाट विमान उडान र अवतरण भइरहे पनि कयौं उडान प्रभावित भएको छ । वर्षा प्रभावितहरुलाई सुरक्षित रहने अपील गरिएको छ । मुम्बईमा हरेक बर्ष भारी वर्षाका कारण जनधनको क्षति हुने गरेको छ ।

सम्बन्धित खवर