काठमाडौं, प्रतिनिधिसभाको शुक्रबारको बैठकमा इटहरी उपमहानगरका मेयरको विषयमा कुरा उठेको छ । सांसदहरुले मेयर द्वारिकलाल चौधरीलाई तत्काल कार्वाही गर्न सरकारसंग माग गरेका छन् । बैठकमा बोल्दै सांसदहरु सितादेवी यादव, विन्दा पाण्डे र लक्ष्मी परियारले महिलामाथि अपमानजन्य अभिव्यक्ति दिएका मेयर चौधरीमाथि तत्काल कार्वाही गर्न सरकारसँग माग गरेका हुन् ।
नेपाली काँग्रेसका कोषाध्यक्ष समेत रहेकी यादवले मेयर चौधरीले महिलामाथि अपमान हुने गरी घृणित अभिव्यक्ति दिँदा पनि सरकारले कार्वाही नगरेकोमा आपत्ति जनाइन् । त्यसैगरी सत्तारुढ नेकपाकी सांसद विन्दा पाण्डेले महिलामाथि अशिष्ट र अपराध हुने गरी सार्वजनिक अभिव्यक्ति दिने मेयर चौधरीमाथि तत्काल कार्वाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
काँग्रेस सांसद लक्ष्मी परियारले पत्रकारको नाकको डाँडी भाँच्ने धम्की दिने, महिलाहरुमाथि अपमान हुने गरी अभिव्यक्ति दिँदै आएका मेयर चौधरीलाई तत्काल कार्वाही गर्न सरकारलाई सचेत गराइन् ।
यसअघि प्रतिनिधिसभाको बैठकको सुरुमै विशेष समय लिएर बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले मेयर चौंधरीले महिलामाथि अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका थिए ।
पछिल्लो समय इटहरीमा सार्वजनिक स्थलमा नै आयोजित एक कार्यक्रममा र..डी (जिन्दावाद) भन्दै नारा लगाएपछि मेयर चौधरी निकै विवादमा तानिएका छन् । धेरैले चौधरीलाई भ्रष्ट्राचार बिरोधी अभियान्ता भन्दै सपोर्ट गर्ने गरेका छन् भने केहीले पदीय पर्यादा विर्सिएको भनेर आलोचना गर्ने गरेका छन् ।
रातोपाटीको सहयोगमा