राजेन्द्र महतो,लहान
सिरहाको कल्याणपुर नगरपालिकामा जनप्रतिनिधि र कार्यालय प्रमुखहरुले व्यापक भ्रष्टाचार गरेको भन्दै युवा तथा विभिन्न राजनैतिक दलहरु आन्दोलनमा उत्रिएका छन् ।
कल्याणपुर नगरपालिकाका नगर प्रमुख लगायत कार्यालय प्रमुखहरु भ्रष्ट रहेको र भ्रष्टाचारका सम्पुर्ण सिमा पार गरिसकेको भन्दै पत्रकार सम्मेलन मार्फत युवाहरुले विरोध समेत गरेका छन् ।
नगरपालिकाको नीति कार्यक्रम संचालनका लागि कानुनी र लोकतान्त्रिक विधिलाई किनारा लगाइ मनोमानी र गैरकानुनी ढंगले संचालन गर्दै चौतर्फी भ्रष्टाचार र ब्रहमलुट गरिरहेको भन्दै नेकपा पार्टीका नेता तथा कार्यकर्ताहरुको अगुवाइमा विभिन्न राजनैतिक दलमा आवद्ध युवा तथा कार्यकर्ताहरु आन्दोलनमा उत्रिएका छन् ।
जनताबाट उठेको आवाजलाई लोकतान्त्रिक र कानुनी राज्यको अवधारणा अनुसार लागू गर्न विभिन्न विषय वस्तु सहित कल्याणपुर नगरपालिकालाई ७ दिने अल्टिमेटम दिएपनी हाल सम्म मागेका विषय वस्तु र त्यसको पक्षमा नगर प्रमुख र कार्यालय प्रमुखहरुले वेवास्ता गर्नुको साथै फोन तथा संबादको बाटो समेत बन्द गरेकोले बाध्य भइ आफुहरु आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कल्याणपुर नपाकार्यालयको लागि आवश्यक प्राविधिक सामाग्रीहरु लगायत विभिन्न कार्यमा नकली बिल भर्पाइ बनाइ आर्थिक हिनामिना गरेको आक्रोश व्यक्त गर्दै युवाहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
सवारी साधनमा जनप्रतिनिधिबाट व्यापक दुरुपयोग भएको साथै मापदण्ड बिपरित विभिन्न विकास निर्माणका कार्यहरू गरेको र यस विषयमा जानकारी लिन आफुहरु पटक पटक सुचना मागेपनी सुचना पाउने अधिकारबाट बंचित गरेको युवाहरुले बताएका छन्।
जनताको हितमा काम गर्नुको साटो जनताको हित विपरीत मनमौजी गरिरहेको र आन्तरिक स्रोत साधनको दोहन गर्नुका साथै सरकारको नीति निर्देशन विपरीत आफुखुशी उपभोक्ता समिती गठन गरेको राजनीतिक दलका कार्यकर्ताहरुले बताएका छन् ।
जस अन्तरगत असार १० गते नगरपालिकामा कालो झण्डा गाडि नाराजुलुश गरेका छन् । असार १२ गते दिनको १० बजे देखि १२ बजे सम्म कल्याणपु नगरपालिका घेराउ गर्ने र असार १३ गते देखि अनिश्चित कालिन तालाबन्दी गर्नुका साथै आवश्यकता अनुसार नेकपा र राजपा नेपाल कल्याणपुरको संयुक्त बैठक द्वारा थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बताइएको छ ।