मोरङमा चट्याङले तीन जनाको मृत्यु

मोरङमा चट्याङले तीन जनाको मृत्यु

मोरङ–मोरङमा चट्याङले लागेर तीन जनाको मृत्यु भएको छ । रंगेली नगरपालिका–९ दोहमना बजारमा चट्याङले लागेर बुधबार दिउँसो दुई बालकको मृत्यु भएको छ । दिउँसो ३ बजे परेको चट्याङले रंगेली–९ का १५ वर्षीय राजु ऋषिदेव र १६ वर्षीय अभय ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ । बाटोमा हिंडिरहेका बेला वर्षासँगै परेको चट्याङले लागेर उनीहरु घाइते भएका थिए ।

उपचारका लागि अस्पताल पु¥याउन साथ दुवै जनाको मृत्यु भएको हो । दुवै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रंगेलीमा राखिएको छ । यसैबीच खोलामा बाँसको अस्थायी पुल बनाउँदै गर्दा चट्याङले लागेर मोरङमा एक जनाको मृत्यु भएको छ ।

रतुवामाई नगरपालिका–५ मलाहा टोलका २३ वर्षीय जुगेर मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ । रतुवा खोलामा बाँसको अस्थायी पुल बनाउने क्रममा उनलाई अचानक चट्याङको झट्काले लागेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार मियाँको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा मंगलबारराति मृत्यु भएको हो ।

वर्खायाममा खोला बढेर बाढी आउँदा तर्न समस्या हुने भएपछि मलाहा टोलका स्थानीय बासिन्दाले रतुवा खोलामा बाँसको अस्थायी पुल बनाउने गरेका छन् । खोला नघटुन्जेलसम्म स्थानीय बासिन्दाले खोला वारपार गर्न अस्थायी बाँसको पुल बनाएर प्रयोग गर्ने गरेका छन् ।

सम्बन्धित खवर