भद्रपुर नगरपालिका कार्यालयमा रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम फेला 

भद्रपुर नगरपालिका कार्यालयमा रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम फेला 

भद्रपुर–भद्रपुर नगरपालिकाको कार्यालयमा रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम फेला परेको छ। नगरपालिकामा फेला परेको रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम नेत्र विक्रम चन्दनेतृत्वको समूहले राखेको झापाका प्रहरी, प्रशासन प्रमुखको दाबी छ। मेयर तथा उपप्रमुखको कार्य कक्ष चढ्ने सिँढीको तल कालो ब्यागभित्र रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम राखिएको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। भद्रपुर ५ स्थित भद्रपुर बजारमै रहेको नगरपालिकाभित्र बम फेला परेपछि स्थानीयमा खैलाबैला मच्चिएको थियो। बम फेला परेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले स्थानीयलाई सुरक्षित स्थानतर्फ जान लगाए। करिब तीन घण्टा भद्रपुरको मुख्य सडक अवरोध भएको थियो।

शङ्कास्पद वस्तु फेला परेको करिब ४५ मिनेटभित्रै सेनाको बम डिस्फोजल टोली घटनास्थल आइपुगेका थिए। राति करिब १० बजेदेखि सेनाको टोलीले बम निष्क्रिय पार्न लागे। कालो ब्यागलाई नगरपालिकाबाट निकालेर सुरक्षति स्थानतर्फ लगे। त्यहाँ लगेर सेनाको टोलीले १० बजेर ५६ मिनेटमा शङ्कास्पद कालो ब्याग विस्फोट गराइयो। पहिलो पटकको विस्फोटपछि ब्याग च्यातिएर प्रेसर कुकर बाहिर आयो। प्रेसर कुकर बम निष्क्रिय नभएपछि ११ बजेर १५ मिनेटमा फेरि दोस्रो पटक विस्फोट गराइयो। तर बम निष्क्रिय भएन। त्यसपछि सेनाले तेस्रो पटक ११ बजेर ५० मिनेटमा विस्फोट गराएर बम निष्क्रिय पारेको थियो। सेनाका मेजर थापाले रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बमभित्र ६ वटा डेटोनेटर रहेको पुष्टि गरे।

भद्रपुर नगरपालिकामा बम रहेको जानकारी गृह मन्त्रालयका सचिवले फोनमार्फत झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई गराएका थिए। प्रजिअ दाहाललाई खबर आउनुअघि नगरपालिकामा बम राखिएको कसैलाई थाहा थिएन। प्रजिअ दाहाललाई भद्रपुर नगरपालिकामा बम राखेको सूचना आएलगत्तै प्रजिअ दाहालले तत्काल झापाका प्रहरी प्रमुखहरूलाई जानकारी गराए। त्यसपश्चात् जिल्ला प्रहरी कार्यालय झापाले सोमबार बेलुका पौने ९ मा वडा प्रहरी कार्यालय भद्रपुरलाई बम राखिएको सूचना दियो। सूचना पाउनासाथ वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुग्यो। प्रहरीले करिब आधा घण्टापछि कालो झोलामा शङ्कास्पद वस्तु फेला र्पायो। त्यस अवधिभित्र घटनास्थलमा प्रमुख जिल्ला अधिकारी दाहाल, प्रहरी कार्यालय झापाका डीएसपी श्रेष्ठ, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ आइपुगेका थिए।

नगरपालिका अगाडि एउटा सीसी क्यामेरा जडान गरिएको छ। त्यो पनि कमजोर रहेको छ। सीसी क्यामेरा नगरपालिकाको मुख्य गेट र सडकको दृश्य मात्र कैद गर्छ। नगरपालिकामा बम राखिएको स्थान सिसी क्यामेराले भेटाउँदैन। नगरपालिका कार्यालयको कार्य कक्षभित्र मात्रै सीसी क्यामेरा जडान गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले जानकारी दिए। नगरपालिकाले आफ्नो परिसर वरिपरि सीसी क्यामेरा जडान नगरेकोले प्रहरीलाई अनुसन्धानमा समस्या हुने भएको छ।

सम्बन्धित खवर