राजेन्द्र महतो, लहान
सिरहा जिल्ला स्थित रहेको सुखीपुर नगरपालिकाको नगरसभा विवादित बन्न पुगेको छ । नगर प्रमुख रामऔतार यादबले उप प्रमुख र वडाध्यक्षहरुसँग सल्लाह नै नगरी नगरसभा सोमबारबाट सुरु गर्दा विवादित बन्नपुगेको हो।
नगर प्रमुख यादबले तानाशाही प्रवृत्ति देखाई अगामी आर्थिक वर्ष २०७६/०७७ को नगरसभा गर्न लागेको भन्दै उपप्रमुख रेणुदेवी साह लगायत ५ वटा वडाध्यक्षले विरोध जनाएका छन् ।
उनीहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गरी नगरसभा स्थगित गर्न माग गरेका छन् । नगरसभा स्थगित नगरे आन्दोलन गर्ने चेतावनी समेत उनीहरुले दिएका हुन् । उप प्रमुख साहले आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ को हरहिसाब पटक पटक सार्वजनिक गर्न आग्रह गर्दा पनि नगर प्रमुख यादबले बेवास्ता गरेको बताएकी छन् ।
उपप्रमुख साहले मेयर यादब विभिन्न योजनामा व्यापक आर्थिक अनियमितता गरेको आरोप समेत लगाउदै भ्रष्टाचारको पोल खुल्ने डरले मेयर हरहिसाब सार्वजनिक गर्न नमानेको बताएकी हुन् । सुखीपुर नगरपालिकामा जम्मा १० वडा रहेको छ । जसमध्ये ५ वडाध्यक्षहरु क्रमश हरिवंश महतो, रामेश्वर साह, शैलेन्द्र कामती, विजय कर्ण दास र रामलखन महतोका साथै उपप्रमुख साहले नगरसभाको विरोधमा उत्रिएका छन् ।