७ वटा ब्वाँसोले एकैपटक आक्रमण गर्दा १८ भेडा मरे

७ वटा ब्वाँसोले एकैपटक आक्रमण गर्दा १८ भेडा मरे

ताप्लेजुङ—ताप्लेजुङको सिरिजंघा गाउँपालिका ७, याम्फुदिनको सेसेलेमा ब्वाँसोले १८ भेडा मारेको छ । ४ सय ५० वटाको समूहमा रहेको गोठमा आक्रमण गरी अधिकांश ब्याउने भेडा मारेको हो ।

पशुधनी कमल विष्टका अनुसार ७ वटा ब्वाँसोले एकैपटक आक्रमण गरेका थिए । साँझ गोठमा राखेका बेला आक्रमण गरेको कमलले बताए । ब्वाँसो पसेको देखेपछि कुकुरले प्रतिकार गर्न खोजेको थियो । कुकुरलाइ घाइते बनाएपछि एकपछि अर्को भेडा मारेको कमलले बताए ।

झुन्ड झुन्ड भएर फर्किरहेको एउटा जत्थामा पसेर घेरा हालेर आक्रमण गरेको भुपाल विष्टले सुनाए । मान्छेले होहल्ला गर्न थालेपछि भागेका थिए । बालीनाली नहुने र विहान खर्कमा छोडेपछि वेलुका एकैचोटि भेला पार्न जाँदा हुने भएकाले थोरै जनशक्तिले धेरै भेडा हेर्न सक्छन । कमलका अनुसार साढे ४ सय भेडा हेर्न ४ जना मात्रै खटिएका थिए ।

अहिले सेसेलेबाट कुलिङमा गोठ सारिएको छ । यो घुन्सा बजारभन्दा नजिकको क्षेत्र हो । फावाखोलाका मानवहादुर विष्टका अनुसार ३० वर्षअघि ब्वाँसोको जत्थाले एकै पटकमा ९० भेडा मारेको थियो । त्यसपछि भने हराएको थियो । अहिले एक्कासि ठूलो संख्यामा देखा परेको मानबहादुरले बताए ।

सम्बन्धित खवर