धनकुटामा प्याराग्लाइडिङको सफल परीक्षण उडान

धनकुटामा प्याराग्लाइडिङको सफल परीक्षण उडान

धनकुटा–धनकुटा नगरपालिका–७, चुलीवनमा पहिलो पटक सफल रुपमा प्याराग्लाइडिङ उडान गरिएको छ । धनकुटामा पहिलो पटक प्याराग्लाइडिङ उडान बिहीबारदेखि सुरु भएको छ । धनकुटा बजार नजिकै रहेको चुलीवनबाट धनकुटा नगरपालिकाको सहयोगमा कोशी एडभेन्चर प्रालि इटहरीले साँगुरीगढीको याक्चनासम्म परीक्षण उडान भरेको हो ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गरिने साहसिक खेल प्याराग्लाइडिङका लागि उपयुक्त स्थान रहेकाले यसलाई व्यावसायिक रूप दिइने कोशी एडभेन्चर इटहरीका निर्देशक सुरेश बस्नेतले बताए । धनकुटा नगरपालिकाले चुलीवनबाट प्याराग्लाइडिङमा याक्चना अवतरण गर्ने र याक्चनाबाट मूलघाटसम्र्म याफ्टिङ प्याकेजको रुपमा सञ्चालन गरिने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए। प्याराग्लाइडिङबाट आन्तरिक तथा बाहृय पर्यटक आकर्षित गर्नका लागि धनकुटा नगर क्षेत्र भित्रका सम्भाव्यता साहसिक खेलहरु अध्ययन, अनुसन्धान गर्नका लागि प्याराग्लाइडिङको परीक्षण उडान गरिएको धनकुटा नगरपालिकाले जनाएको छ ।

कोशी एडभेन्चर प्रालि इटहरीले चुलीवनबाट बिहीबार गरेको प्याराग्लाइडिङको परीक्षण उडान सफल भएपछि कम्पनीले प्याराग्लाइडिङ उडानका लागि विस्तृत अध्ययन प्रतिवेदन केही समयमा नगरपालिकालाई बुझाउनेछ । त्यही विस्तृत विवरणको आधारमा निश्चित मापदण्ड बनाएर नगरपालिकाले निजी कम्पनीहरुलाई प्याराग्लाइडिङको उडान भर्न दिने धनकुटा नगरपालिकाले बताएको छ ।

यसअघि भेडेटार, डाँडाबजार, धरान, इलाम, उदयपुरलगायतका जिल्लामा प्याराग्लाइडिङको सफल परीक्षण भएको थियो ।

सम्बन्धित खवर