पाँचथर–हिलिहाङ गाँउपालिका–६, साविक भारपा–१ मा युवतीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । हिलिहाङ–३, गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्सको शाखामा कार्यरत इलाम घर भएकी २० वर्षीया सुजाता तामाङको शव मंगलबार साँझ ६ बजे अवस्थामा सिते भन्ने ठाउँको जङगलको गोरेटो बाटोमा तामाङको शव फेला परेको हिलिहाङ गाँउपालिका–६, का वडाध्यक्ष कृष्ण यवाले बताए ।
मंगलबार साँझ घाँटी रेटी हत्या गरिएकी २० वर्षीया सुजाता तामाङको साथमा रहेको पैसा पनि लुटिएको प्रहरीले जनाएको छ । सुजाताको साथमा रहेको ७८ हजार ५ सय रुपैयाँ हत्यामा संलग्नहरुले लुटेर लगेको प्रहरीले बताएको छ । सुजाताको हत्या लुटपाटकै लागि गरिएको हो या अन्य कारणले हो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताए ।
मंगलबार गाउँका दुई ठाउँका बैठकमा सहभागी भएर फर्कने क्रममा हत्या भएको थियो । इलामको माइजोगमाई गाउँपालिका–५ घर भएकी तामाङको शव अहिले जिल्ला अस्पताल फिदिममा राखिएको छ । हत्याराको खोजी भैरहेको प्रहरीले जनाएको छ ।