फुङलिङमा ५० जनालाई रोजगार दिएर प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

फुङलिङमा ५० जनालाई रोजगार दिएर प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

ताप्लेजुङ–फुङलिङ नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरु भएको छ। वडा नम्बर ४ र ५ ले ५० जनालाई रोजगार दिएर कार्यक्रम सुरु गरेको हो। पहिलो चरणमा आवेदन दिएकामध्ये ४१० जनालाई छनोट गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको थालनी गरिएको नगर प्रमुख छत्रपति प्याकुरेलले बताए। नगरका सबै वडाका एक हजार ६८५ जनाले आवेदन दिएका थिए।

अन्य वडामा समेत प्रक्रिया पूरा भइसकेकाले छनोट भएकालाई तत्काल काममा लगाइने प्याकुरेलको भनाइ छ। पहिलो चरणमा छनौट भएकालाई नगर क्षेत्रका सडक, गोरेटो बाटो निर्माण, बजार क्षेत्रको फोहोरमैला संकलन, व्यवस्थापन तथा नाली सरसफाइ, कुलो मर्मत, भवन मर्मतलगायतका काममा लगाइने छ। नगरपालिकाका ११ वटा वडामा २८ वटा यस्ता योजना बनाई रोजगार कार्यक्रम सञ्चालन गरिएको हो।

आवेदन दिएर पहिलो चरणमा छनोट नभएकालाई अर्को चरणमा काममा लगाइने रोजगार कार्यक्रमका संयोजक राजकुमार बानियाले बताए। बानियाका अनुसार कामदारले दैनिक सात घण्टा काम गरे बापत ६५५ रुपैयाँ पारिश्रमिक पाउने छन्। छनोट भएका प्रत्येक कामदारलाई वर्षमा १०० दिन अनिवार्य काम दिने सरकारको योजना रहेको छ। वर्षभरिमा १०० दिन काम दिन नसके काम नपाएको दिन गन्ती गरी काम गर्दा पाउने पारिश्रमिकको आधा रकम निर्वाह भत्ता स्वरुप प्रदान गरिने बताइएको छ। यस्तै, एक वर्षमा एकै दिन पनि काम नपाए उसले १०० दिन काम गर्दा पाउने न्युनतम पारिश्रमिकको आधा रकम पाउने छ।

सम्बन्धित खवर