बसोवासको समस्याका बारेमा मन्त्रालयमा कुरा राख्ने ः उपसभामुख

बसोवासको समस्याका बारेमा मन्त्रालयमा कुरा राख्ने ः उपसभामुख

पथरी, संघीय सरकारका उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेले उत्तरपूर्वी मोरङको लामो समयदेखि जटिल अवस्थामा रहेको वसोवासको समस्या समाधानका लागि सम्वन्धित मन्त्रीसँग कुरा गर्ने वताउनु भएको छ ।

उत्तरपूर्वी मोरङका पालिकाहरुका उपप्रमुख एवम् उपाध्यक्षहरुसँग पथरी शनिश्चरे नगरपालिकामा भएको भेटघाटका क्रममा उपसभामुख तुम्वाहाम्फेले सो कुरा बताउनु भएको हो ।

उपप्रमुख एवम् उपाध्यक्षहरुले वसोवासको समस्या समाधान गर्न पहल गरिदिन अनुरोध गरेपछि सम्वाहाम्फेले आफु बसोबासको समस्यासँग जानकार रहेकाले भूमिसुधार मन्त्रीसँग भेटेर यसबारे ध्यानाकर्षण गराउने वचन दिनुभयो ।

भेटघाटका क्रममा उहाँले महिला तथा युवा सशक्तिकरणका क्षेत्रमा समेत आफ्नो ध्यानाकर्षण भएकाले सम्वन्धित पक्षसँग कुरा राखिदिने उल्लेख गर्नुभयो । साथै उहाँले आफ्नो पालिकाबीचका जनप्रतिनिधिबीचको समन्वयका साथै तिनै तहका सरकारको आपसी समन्वयमा व्यवस्थित विकास अघि बढाउनु आवश्यक रहेको जनाउँदै समन्वयको पहलमा लाग्न समेत सुझाव दिनुभयो ।

पालिकाका उपप्रमुख एवम् उपाध्यक्षहरुले आफ्ना प्रमुखबाट अपेक्षाकृत समन्वय नभएको समेत गुनासो राखेका थिए ।

कार्यक्रममा, उर्लावारी नगरपालिका उपप्रमुख लक्ष्मी भण्डारी, पथरीशनिश्चरकी उपप्रमुख यमुना विष्ट वास्तोला, बेलबारीकी उपप्रमुख ढाकाकुमारी पराजुली, कानेपोखरी गाउँपालिका उपाध्यक्ष राजकुमारी इङनाम, केराबारीकी उपाध्यक्ष शान्ति लिम्बू लगायतले आफ्ना समस्याका बारेमा अवगत गराउनु भएको थियो ।

नेकपाका जिल्ला सचिव सुशील उप्रेती, युवा संघका पथरीशनिश्चरे नगर अध्यक्ष मणि लिम्बू, नेकपाका १ नम्वर शाखा अध्यक्ष भीमकुमार राई लगायतले तिनै तहका सरकारले समन्वय गरेर गरिव तथा पछि परेकाहरुको उन्नतीका विशेष कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खवर