नुवाकोट गोल्डकपको उपाधि घरेलु टोली नुवाकोट ११ लाई

नुवाकोट गोल्डकपको उपाधि घरेलु टोली नुवाकोट ११ लाई

नुवाकेट–दोस्रो संस्करणको नुवाकोट गोल्डकप फुटवल प्रतियोगिताको उपाधि घरेलु टोली नुवाकोट ११ ले उचालेको छ । शुक्रबार भएको खेलमा संकटा क्लब काठमाण्डौलाई टाईब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै घरेलु टोली नुवाकोट ११ ले उपाधिमा कब्जा जमाएको हो ।

निर्धा्रित समयको खेल एक(एक गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । पेनाल्टीमा संकटाका खेलाडी रोमन लिम्बुको प्रहार पोष्टबाट बाहिरिएपछि उपाधि नुवाकोटले उचालेको हो । नुवाकोटका रुपेश केशी, भिक्टर, रमेश घिसिङ, अभिशेक वर्मा र राजिव लोप्चनले गोल गरेका थिए । त्यस्तै संकटाका अमित तामाङ, दिपेश आलेमगर, एमेष्टको प्रहारले जाली चुमेको थियो ।

२३ औ मिनेटमा संकटाका पुजन उपरकोटीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ८३ औ मिनेटमा नुवाकोटका भिक्टरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।उपाधिसंगै नुवाकोट ११ ले ६ लाख रुपैयाँ प्राप्त गरेको छ । संकटाले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक नुवाकोट ११ का देव चित्रकार, उत्कृष्ट खेलाडी नुवाकोट ११ कै रुपेश केशी र म्यान आफ दी फाईनल नुवाकोट ११ कै गोलकिपर अर्पण कार्की घोषित भए । उत्कृष्ट प्रशिक्षक भएका चित्रकारले २० हजार रुपैया पाए । उत्कृष्ट खेलाडी भएका केशीले नगद ५० हजार रुपैयाँ र म्यान अफ दी फाईनल कार्कीले १० हजार रुपैयाँ हात पारे ।

जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट फुटवल संघको संयुत्त आयोजनामा भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि गतवर्ष नेपाल पुलिस क्लबले हात पारेको थियो ।

सम्बन्धित खवर