मध्यतमोर ७३ मेगावाट क्षमताको जलविद्युत आयोजनाको निर्माण कार्य तीव्र

मध्यतमोर ७३ मेगावाट क्षमताको जलविद्युत आयोजनाको निर्माण कार्य तीव्र

ताप्लेजुङ–ताप्लेजुङस्थित तमोर नदीबाट उत्पादन गर्न लागिएको ७३ मेगावाट क्षमताको मध्य तमोर जलबिद्युत आयोजनाको निर्माणले तीव्र गति लिएको छ। आयोजनाको मुख्य प्रर्वद्धक संस्था सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ प्रालिका अनुसार सन २०२२ मा आयोजना सम्पन्न गर्ने गरि डेढ महिना अघिबाट निर्माण थालिएको हो। निर्माण सुरु भएको छोटो अवधिमा नै २७७ मिटर लामो इन्सफेक्सन सुरुङमार्ग मध्ये १६० मिटर सुरुङ मार्ग निर्माण पुरा भएको छ भने ३०२ मिटर अडिट सुरुङ मार्ग मध्ये २८० मिटर पूरा भएको छ।

यस्तै आयोजनाको हेडवर्करका लागि समेत आवस्यक संरचना निर्माण पनि अघि बढेको छ। यी संरचना फुङलिङ नगरपालिकामा पर्ने हाङ्देवा र फुरुम्बुको तल्लो क्षेत्रमा पर्ने मित्लुङमा निर्माण भइरहेको हो। चाइनिज निर्माण व्यवसायी कम्पनी झिझोङ फष्ट हाइड्रोले आयोजनाको मुख्य संरचनाको निर्माण गरिरहेको हो। कुल १२ अर्व रुपैयाँ बराबरको लागतमा निर्माण हुने सो आयोजनामा २५ प्रतिशत स्वलगानी र ७५ प्रतिशत नेपाल इन्भेष्टमेन्टसहितका ७ वटा बैंकको लगानी हुने जनाइएको छ।

आयोजनाको मुख्य संरचनाहरू मिक्वाखोला गाउँपालिका २ खोक्लिङ र फक्ताङलुङ गाउँपालिका १ सावादिनमा रहने आयोजनाले जनाएको छ। यस आयोजनाबाट उत्पादित विद्युत मैवाखोला गाउँपालिकाको ढुंगेसाँघुमा निर्माण हुने सव स्टेशनमा र्पुयाई राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजनाका जन सम्पर्क अधिकृत करण गौतमले जानकारी दिए। मध्यतमोर जलविद्युत् आयोजनाका संयोजक डा. मणिराज पोखरेलका अनुसार कम्पनीलाई १ हजार २८१ दिनको कार्यतालिका बुझाइएको छ। यो कार्य तालिका डेढ महिनाअघि कम्पनीलाई बुझाइएको हो। साप्ताहिक समीक्षा बैठकमा कामको प्रगतिमा सन्तुष्टि पाइएको छ। सुरुवातमा ५४ मेगावाट उत्पादन गर्ने गरी तयारी थियो। यद्यपि निर्माण क्षेत्रमा प्राकृतिक प्रकोपको जोखिम अध्ययनमार्फत पाइएपछि आयोजनाको हेडबक्स परिवर्तन गरिएसँगै थप १९ मेगावाट थप भएकाले उत्पादन क्षमता ७३ मेगावाट पुगेको हो।

सम्बन्धित खवर