अत्याधिक गर्मीका कारण झापाका कुखुरा मर्न थाले

अत्याधिक गर्मीका कारण झापाका कुखुरा मर्न थाले

दमक–केही दिन यता बढेको अत्यधिक गर्मीका कारण झापाका कुखुरा मर्न थालेको छ। गर्मीले व्यवसायिक पालन गरिएका ब्रोइलर तथा लेयर्स जातका कुखुरा मरेको किसानहरुले बताएका छन्।

दमक नगरपालिका–९ को पञ्चमुखी कृषि फार्मका सञ्चलक देवराज अधिकारीले दुई दिनमा करिब २०० वटा कुखुरा मरेका बताए। गर्मी अझै बढेमा र लम्बिएमा कुखुरा जोगाउन चुनौती रहेको पूर्वाञ्चल अण्डा उत्पादक संघका पूर्वसचिव समेत रहेका अधिकारीले बताए। चार हजार लेयर्स कुखुरा पालेका उनले अण्डाको उचित मूल्य नपाइरहेका बेला कुखुरा नै मर्न थालेपछि थप समस्या भएको उनको भनाइ छ। यस्तो बेलामा कुखुरा जोगाउन खोरमा शीलता कायम गर्नुपर्ने, पानीमा ग्लुकोज तथा भिटामिन मिसाएर कुखुरालाई दिनुपर्ने जस्ता कारणले थप लागत बढ्ने अधिकारीले बताए।

अण्डा उत्पादक संघ झापाका उपाध्यक्ष देवेन्द्र प्रसाईको फर्म पनि दुई दिनमा करिब डेढ सय कुखुरा मरेका छन्। दमक–१० मा रहेको उनको दमक एग्रिकल्चर फर्ममा ‘फेन्ट’ भएका त्यति नै संख्याका कुखुरालाई छहारीमा राखेर स्याहार गरिरहेको उनले जनाए । एक सयको हाराहारीमा रहेका जिल्लाका व्यवसायिक फर्ममा पनि कुखुरा मरिरहेको खबर आएको प्रसाईले बताए। बिहानै देखि चर्को घाम लाग्ने गरेका कारण बजारमा सर्वसाधारणको चहल पहलमा निकै कमी आएको छ। चर्को घाम र तातो हावाका कारण घरबाहिर निस्कन सर्वसधारणलाई कठिन भइरहेको स्थानीयको भनाइ छ।

सम्बन्धित खवर