इलाम बजारबाट तराईसम्म जोड्ने निर्माणाधीन फास्ट ट्राकले व्यापार, पर्यटन विकासमा समेत सहज हुने

इलाम बजारबाट तराईसम्म जोड्ने निर्माणाधीन फास्ट ट्राकले व्यापार, पर्यटन विकासमा समेत सहज हुने

इलाम– इलामबाट तराईसम्म जोड्ने निर्माणाधीन फास्ट ट्रयाक आधा दुरी छोटिएर व्यापार, पर्यटन विकासमा समेत सहज हुने भएपछि स्थानीयहरु खुसी भएका हुन् । सदरमुकाम इलाम बजारबाट तराईसम्म जोड्ने निर्माणाधीन फास्ट ट्र्याकले गति लिएको छ ।

इलामदेखि तराइ पुग्न पहिले मेची राजमार्गको ८३ किलोमिटरको यात्रा गर्नुपर्ने बाध्यता रहेकोमा अब नयाँ सडक खुलेपछि ४७ किलोमिटरको यात्रामै पुग्न सकिने भएको छ । सदरमुकाम इलाम बजारबाट झापाको विर्तामोड जोड्ने द्र्रूतमार्गको डीपीआर निर्माणपछि कामले गति लिएको छ । इलाम नगरपालिका–९ को भञ्ज्याङ, भाङटार, राकसे सडक खण्डमा चालु आर्थिक वर्षमा तीन करोड ८४ लाख बराबरको काम भइरहेको डिभिजन सडक कार्यालय इलामले जनाएको छ ।

इलाम नगरपालिकाले वडा नं ९ को सडक खण्डमा सडकको नाली निर्माण र ग्राभल भर्ने काम भइरहेको जनाएको छ । त्यस्तै नयाँ ठेक्कामार्फत थप दुई करोडमा सडकलाई थप चौडा बनाउने र थप ग्यावियन पर्खाल र अन्य संरचनाको कार्य अगाडि बढेको इञ्जिनियर ध्रुवकुमार झा बताउँछन् ।

सडकको निर्माणमा प्रति किलोमिटर तीन करोड दुई लाख १३ हजार खर्च लाग्ने अनुमान छ । फास्ट ट्र्याकको बीचमा पर्ने ठाडे खोला र पुवा खोलामा पक्की पुल नहुँदा वर्षायाममा यातायात संचालन हुन सकेको छैन । ट्रयाक खुलेपछि भाडा सस्तो हुनुका साथै सामाग्री ढुवानी र पर्यटन क्षेत्रमा थप सम्भावना खुल्ने स्थानीयको भनाइ छ । मेची राजमार्गबाट झापा जोड्न करिव तीन घण्टाको सडक यात्रा तय गर्नुपर्ने बाध्यता रहेकोमा अब एक घण्टामै झापासम्म पुग्न सकिने भएको छ ।

सम्बन्धित खवर