पथरीशनिश्चरेका ८३ जना ज्येष्ठ नागरिकलाई सम्मान

पथरीशनिश्चरेका ८३ जना ज्येष्ठ नागरिकलाई सम्मान

मोरङको पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा आज वडा नम्वर १ का ८० वर्षमाथिका ८३ जना ज्येष्ठलाई सम्मानित गरिएको छ ।
ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र पथरीशनिश्चरे १ ले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राई, केन्द्रका केन्द्रीय महासचिव कृष्णप्रसाद घिमिरे सहितले जनही नगद ५ सयका साथै एक एक थान झुल समेत वितरण गरी सम्मानित गर्नुभयो । लामखुट्टेबाट हुने डेंगु रोग नगरमा समेत यस वर्षपनि देखा परेको तथा लामखुट्टेजन्य अन्य रोगबाट बच्नका लागि झुलको कार्यक्रम ल्याइएको हो ।

यसैगरी, लामखुट्टेजन्य रोगबाट बच्नका लागि १० नम्वर वडाका २ सय विपन्न परिवारलाई झुल वितरण गरिएको छ । वडाध्यक्ष सागर राईको अगुवाईमा रकम संकलन गरी २ सयजनालाई झुल वितरण गरिएको हो ।

जसमा वडाध्यक्ष राईले १० हजार, वडा सदस्य अनोज घिमिरेले ५ हजार तथा नगरको विजी हाउसका प्रोप्राइटर वीरवहादुर घिमिरेले १० हजार, कावेली कन्ट्रक्सनका भूवन थापाले १० हजार सहितको रकम सहयोग जुटेपछि झुल खरिद गरी वितरण गरिएको छ ।
अन्यसँग पनि सहयोग रकम संकलन हुँदै गरेको जनाउँदै वडाध्यक्ष राईले वडाका अन्य १ सय घर परिवार विपन्नलाई झुल वितरण गरिने बताउनु भयो ।

सम्बन्धित खवर