नवजात शिशुलाई काँसघारीमा फाल्ने आमा पक्राउ

नवजात शिशुलाई काँसघारीमा फाल्ने आमा पक्राउ

पथरी, नवजात शिशुलाई काँसघारीमा फालेको अभियोगमा आमा पक्राउ परेकी छिन् । मोरङको उर्लाबारीमा डेरा बस्दै आएकी ३० वर्षीय माया राई शुक्रबार पक्राउ परेकी हुन् ।

राईले गत चैत्र ६ गते मावा खोलाको किनारमा रहेको काँसघारीमा शिशु फालेकी थिइन् । काँसघारीमा भेटिएको शिशुलाई उर्लाबारी प्रहरीले तत्काल उद्धार गरी स्थानीय गोदावरी हस्पिटलमा प्रारम्भिक उपचारपछि नोबेल अस्पताल विराटनगर लगेको थियो तर शिशुको उपचारकै क्रममा मृत्यु भएको थियो । शिशुको नोबेल अस्पतालमा उपचारका क्रममा राई आफै उपस्थित भकी थिइन् । उपचारका क्रममा चैत २८ गते बिहान शिशुको मृत्यु भएपछि राई अस्पताल परिसरबाटै फरार भएकी थिईन् ।

गत बैशाख २ गते इलाका प्रहरी कार्यालय उर्लाबारीमा मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ को परिच्छेद १२ को दफा १८४ बमोजिम मुद्धा दर्ता भई जिल्ला अदालत मोरङबाट शिशुलाई बेवारिशे अवस्थामा छाड्ने राईलाई पक्राउ गर्न अनुमति दिएपछि शुक्रबार दिउँसो प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाको नेतृत्वमा खटिएको प्रहरीको टोलीले उर्लाबारी नगरपालिका –५ हाटखोलाको शुक्रबारे बजारबाट पक्राउ गरेको हो । राई इलाम माङसेबुङ गाउँपालिका –६, स्थायी घर भई उर्लाबारीमा डेरा गरी बस्दै आएकी थिइन् ।

राईले २०७५ असारमा काठमाण्डौमा भेट भएका एक ब्यक्तिसँग प्रेम विवाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङका प्रहरी नायव उपरीक्षक एवम् प्रबक्ता घनश्याम श्रेष्ठले जानकारी दिए । सो विषयमा थप अनुसन्धान भईरहेको श्रेष्ठल बताएका छन् ।

सम्बन्धित खवर