कानेपोखरी–रंगेली नगरपालिका–९,फार्साडाँगी चोकबाट उत्तर कानेपोखरी चोक जोड्नलाई ठेकेदार कम्पनीले सडक कालोपत्रे गर्न सुरु गरेको छ । पहिलो पटक फार्साडाँगी चोकबाट उत्तर कानेपोखरी चोकसम्म १५ दशमलव ४४ किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का लागे अनुसार काम सुरु भएको हो ।मोरङको कानेपोखरी रंगेली सडक(खण्ड अन्तर्गत कानेपोखरी गाउँपालिका २ गेउरिया पुल भने अझै अलपत्र छ ।
२०७१ सालमा फिचर एन्ड सराउद्दिन जेबीले १ करोड १८ लाख रुपैयाँ ठेक्कामा काम सुरु गरेको थियो तर पुलको ३ फिट मात्रै पिलर उठाएर अलपत्र छाडेर ठेकेदार भागेपछि स्थानीय निरास भएका छन् । वडा नम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकीले पुलको काममा भइरहेको ढिलाइको बारेमा सडक विभाग, प्रदेश सरकार र केन्द्र सरकारलाई बारम्बार जानकारी गराउँदासमेत सुनुवाइ नभएको बताउनुभयो । लामा डाँफे द कन्चनजंघा कन्स्ट्रक्सनले रंगेली–कानेपोखरी सडकको कालोपत्रे गर्ने काम सुरु गरिसकेको छ । तर गेउरीया पुल नबन्दा सडक कालोपत्रे भएको कुनै अर्थ नहुने स्थानीयको भनाइ छ।
७ मिटर चौडा कालोपत्रेमा ४० मिलिमिटर मोटो पिच हुने भएको हो । पिच गरिने दायाँ बायाँ २ मिटर ग्राभेल लगाइसकेको छ । पहिलो पटक १५.४४ किलोमिटर कालोपत्रे जेठ मसान्तभित्र सक्ने योजना रहेको लामा डाँफे द कन्चनजंघा कन्स्ट्रक्सनका योजना प्रमुख प्रविण शेर्पाले बताए । वर्षायाम सुरु भएपछि काम गर्न असहज हुने भएकोले पहिलो चरणको काम शुरु भएको उनले बताए । २०७४ असार ६ गते कामको जिम्मा पाएको लामा डाँफे द कन्चनजंघा कन्ट्रक्सन कम्पनीले २०७६ असार ५ गते सबै कालोपत्रे गरी सकेर सडक सरकारलाई जिम्मा लगाउने सम्झौता भए पनि समयमा नै काम सम्पन्न हुने छाँट देखिएको छैन ।
कानेपोखरी–रंगेली सडक हुलाकी सडक महेन्द्र राजमार्ग जोड्ने भित्री सडक हो । २५ दशमलव ४ किलोमिटर लम्बाइको योजनामा कूल ७० करोड २४ लाख ३१ हजार ६७९ रुपैयाँमा सडक निर्माणको लागि ठेक्का सम्झौता भएको हो । सरकारले कानेपोखरी–रंगेली सडकखण्डका सर्वसाधारणको जग्गा अधिग्रहण गरेबापत पाँच करोड ६ लाख ५६ हजार १६ मुआब्जा वितरण गरेको थियो । सबैतिर काम अन्तिम चरणमा रहेको भए पनि गेउरिया पुल निर्माणको काम पूरा नहुँदा सडक अलपत्र हुने संकेत देखिएको छ।