हरिप्रसाद कोइराला, कानेपोखरी
मोरङको कानेपोखरी–७ मा भएको सीएम कन्दङ्वा स्मृति टी –ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको ब्लु स्टार क्रिकेट क्लवले जितेको छ । ब्लुस्टार गत वर्षको पनि विजेता हो ।
साविक उप विजेता पथरीशनिश्चरे क्रिकेट क्लवलाई ५० रनले हराउँदै ब्लु स्टारले दोस्रो संस्करणको उपाधि पनि जितेको हो । टस हारेर ब्याटिङ गरेको ब्लुस्टार बिराटनगरले १९ दशमलब २ बल खेल्दै १२८ रन जोडेको थियो । ब्लुस्टारका बीरेन्द्र झा, बिधान गोस्वामी र रोवन रोयले समान २२/२२ रनको योगदान गर्नुभयो । यस्तै कप्तान मुन्ना मेन्डीसले ११ र राजन रोयले १२ रन बटुल्नु भयो ।
पथरीशनिश्चरेका सुरज न्यौपानेले ३ विकेट र शंकर भुजेल, राकेश दाहाल र सुमन न्यौपानेले २/२ विकेट लिनुभयो ।
१२९ रनको बिजयी लक्ष्य लिएर मैदान उत्रिएको पथरीशनिश्चरे १७ ओभर ४ बल खेल्दै ७८ रनमा समेटियो । पथरीशनिश्चरेका लागि सुरज न्यौपानेले २८ रन र विनोद श्रेष्ठले ११ रन बाहेक अरु कुनै खेलाडीले दोहोरो अङ्कको स्कोर बनाउन सकेनन् । पथरीशनिश्चरेलाई सस्तैमा अलआउट गर्दा खेलका म्यान अफ द म्याच घोषित विराटनगरका अमन सिंह राजपुत ४ विकेट लिँदै नायक बन्नुुुभयो । यस्तै मुन्ना मेन्डिसले ३ विकेट लिनुभयो ।
गत जेठ ११ गते देखि सुरु भएको प्रतियोगितामा प्रदेश नं. १ का १६ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । प्रथम पुरस्कार पथरीशनिश्चरे १ को रभरेष्ट माध्यमिक विद्यालयले प्रायोजन गरेको हो । पथरीशनिश्चरे नगर क्षेत्रमा क्रिकेट पीच नभएपछि प्रतियोगिता कानेपोखरी–७ को डाँसमोरङ्गी खेल मैदानमा भएको थियो ।