नेपाली सेना जनतासंग, वृहत स्वास्थ्य शिविर सम्पन्न

नेपाली सेना जनतासंग, वृहत स्वास्थ्य शिविर सम्पन्न

पथरी, नेपाली सेनाले जनतासंग प्रत्यक्ष जोडिएर काम गरिरहेको छ । शनिवार नेपाली सेनाको सूर्यदल गण थलाहा मोरङले मोरङको उत्तरी क्षेत्रमा पर्ने मिक्लाजुङ–३ धोवेनीमा वृहत स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।

वृहत स्वास्थ्य शिविरमा मानिस, पशुंपक्षि, बोट विरुवा, माटो परिक्षण, माटोमा लागेको रोगको उपचार लगाएतका सेवाहरु रहेका थिए । सेनालाई शिविर संचालनका लागि विराटनगरको कोशी अञ्चल अस्पताल, गोल्डेन हस्पिटल, जनस्वास्थ्य कार्यालय, कृषि ज्ञान केन्द्र, पशुसेवा सेवा विज्ञ केन्द्रले सहयोग गरेको थियो । स्वास्थ्य शिविरमा २१ जना विशेषज्ञ चिकित्सक सहित ९१ जना डाक्टरहरुले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

जिल्लाको पहाडी गाउँ मिक्लाजुङको मानव स्वास्थ्य शिविरबाट १ हजार ३ सयले स्वास्थ्य सेवा लिएको वडाध्यक्ष खगेन्द्र मादेनले बताए । मादेनका अनुसार किसानले माटो परीक्षण, बोट बिरुवामा लागेको रोगको पहिचान गरी विषादी सिफारिस र पशुमा लाग्ने विभिन्न १० प्रकारका सेवा दिइएको थियो । किसानहरुले टाढा टाढाबाट पशु बन्ध्याकरण गर्न, कित्रिम गर्भाधान गराउन र पशुको बाँझोपनको उपचार गराउन पशु डो¥याएर स्वास्थ्य शिविर सम्म ल्याएका थिए । विशेष गरेर मिक्लाजुङका ५ वटा वडाका जनताले सेवा लिएको मादेनले बताए ।

नेपाली सेनाको आवधिक कार्यक्रम अन्तर्गत स्वास्थ्य शिविरको आयोजना गरिएको सूर्यदल गण थलाहाका प्रमुख सेनानी रघु पौडेलले बताए । पौडेलका अनुसार गण हरेक वर्ष जनतासँग जोडिन स्वास्थ्य शिविर लगायतका कार्यक्रम लिएर दुर्गम गाउँमा जाने गरेको छ । यो कार्यक्रम चालु वर्षको दोस्रो हो । स्वास्थ्य मानव शिविर आयोजना भएकै समयमा किसानहरूले पनि सेवा पाउन भनेर गण कै समन्वयमा पशुपंक्षी, बोट विरुवाको शिविर तथा माटो परीक्षणको कार्यक्रम पनि राखिएको प्रमुख सेनानी पौडेलले बताए ।

हिडेर आउन नसक्नेलाई एम्बुलेन्सको व्यवस्था

शिविर सम्म स्वास्थ्य परिक्षणका लागि हिडेर आउन नसक्नेलाई वडाले एम्बुलेन्सको व्यवस्था गरेको थियो । शिविर सम्म आउन नसक्ने मिक्लाजुङ ३ की पदमा पौडेललाई पनि घरबाट एम्बुलेन्समा ल्याइएको थियो । स्पाइनल कड इन्ज्युरी (मेरुदण्डको समस्या) भएकी ४४ वर्षीय पौडेल सामान्य हिडडुल समेत गर्न सक्दिन्न । उनलाई एम्बुलेन्समा नै डाक्टरहरुको टोलीले चेकजाँच गरेको थियो ।

२०६८ सालमा बाख्रालाई घाँस काट्न भनेर रुखमा चढेका बेला अचानक बेहोस भएर भुइमा खस्दा उनको स्पाइनल कर्डमा समस्या आएको पदमाका श्रीमान गोपिन्द्र पौडेलले बताए । पौडेलका अनुसार धेरै अस्पतालहरुमा उपचार गराउँदा पनि पदमालाई ठिक भएको छैन् । पदमाको कम्मर मुनिको भागले काम नै गर्न छाडेको छ ।


सम्बन्धित खवर