किरात प्रदेशको प्रस्ताव आए कांग्रेसको समर्थन छ ः कांग्रेस सचेतक सुयर्माराज राई

किरात प्रदेशको प्रस्ताव आए कांग्रेसको समर्थन छ ः कांग्रेस सचेतक सुयर्माराज राई

मोरङ, नेपाली कांग्रेस १ नम्बर प्रदेश सांसद तथा सचेतक सुयर्माराज राईले सत्ता पक्षले प्रदेशको नाम किरात प्रस्ताव ल्याए आफ्नो पार्टीले समर्थन गर्ने बताएका छन् ।

राईले शनिवार मोरङको खानेपोखरीमा आयोजित साकेला समापन कार्यक्रममा सो कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि रहेका सांसद राईले भने ‘दुई तिहाई बहुमत भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा किरात प्रदेश भन्नेहरुको स्वर सानो छ, नेपाली कांग्रेस ठूलै स्वरमा किरात प्रस्ताव गर्नुहोस भनिरहेका छौ ।’
कांग्रेस पार्टीको संसदीय दलको बैठकमा आफूले किरात प्रदेशको नाम राख्न प्रस्ताव गरेको राईले बताए । पार्टीसँगै आफैले पनि प्रदेशको नाम किरात राख्न संदनमा प्रस्ताव दर्ता गर्ने बताए । नेकपाले चाहे प्रतिपक्षी विना पनि राख्न सक्ने बताउदै तर किरात नाम राख्न नचाहेको आरोप लगाए ।

संघीय सरकारले ल्याएको बजेट हेर्दा सरकार संघीयता व्यवहारमा स्वीकार्न गाह्रो परिरहेको आरोप लगाए । संघीय र प्रदेश सरकारको काम हेर्दा सामुदायिक अधिकारका लागि पूनः संघर्षमा जानु पर्ने अवस्था देखिएको बताए ।

कार्यक्रममा यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राईले प्रदेशको नाम किरात नराखिए कडा आन्दोलन हुने बताए । किरात शब्द कैलाश, कैरातहुदै किरात भूमिकोले किरात नाम अस्वीकार गर्नुपर्ने करण नरहेको तर्क प्रस्तुत गरे । केन्द्रदेखि प्रदेश सम्मको सरकार र अस्तित्वमा रहेको विभिन्न पार्टीको नेताहरुसँग भेट्दा किरातप्रति कसैको असहमति नरहेकोले किरात नाम रहनेमा यायोक्खा विस्वास्त रहेको बताए ।

कानेपोखरीको कार्यक्रमसँगै मोरङमा यो बर्षको साकेला समापन भएको हो । कानेपोखरीमा मोरङ जिल्लाको विभिन्न नगर, गाउँपालिका र वडाबाट आएका टोलीले साकेला नृत्य प्रस्तुत गरेका थिए । साकेला परिसरमा निर्माण भएको यलम्बरको प्रतिमा पनि अनावरण गरिएको छ ।


सम्बन्धित खवर