भीमराज अधिकारी, पथरी
प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश कै गौरवको आयोजना पथरीमा बन्ने कुरामा विस्वस्त हुन अनुरोध गरेका छन् । बहुसांस्कृतिक संग्राहलयका लागि मन्त्रालयले तयारी तिब्र बनाएको समेत घिमिरेले बताए ।
शनिवार मोरङको पथरीशनिश्रेमा आयोजित प्रथम पथरीशनिश्चरे बृहत कला साहित्य उत्सवमा सरिक भएका घिमिरेले यस्तो बताएका हुन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका घिमिरेले कार्यक्रमलाई सम्बोधन गर्दै पथरीवासीलाई बधाई समेत दिएका छन् । प्रदेश कै एकमात्र बहु जातीय, बहुसांस्कृतिक संग्राहलय निर्माणका लागि कार्यदलले रिपोर्ट समेत पेश गरिसकेको घिमिरेले बताए । उनले भने “प्रदेश कै सास्कृतिक थलो पथरीलाई मानेका छौँ । खाना, भेषभुषा, संस्कृति सबैकुराको एउटै ग्राम बनाउनालो दैनिक हजारौँ मानिस आउने वातावरण मिलाउदै छौँ । यो विषयमा एकाध मानिसले कुरो नबुझेका समाचारहरु पनि आइरहेका छन् । तर हामीले कसैलाई भेदभाव नगरी बृहत् संस्कृतिक ग्राम बनिने छ ।”
घिमिरेले संघीयताले हरेक समाजमा वाक स्वतन्त्रता, केन्द्रमा हुने कार्यक्रमहरु गाउँ गाउँमा आएको बताए । काठमाडौंले सबैकुरा देख्न नसकेका कारण हाल संघीयता आउनु बाध्यता रहेको घिमिरेको भनाइ थियो । सबैले यसको मर्म बुझेर सदुपयोग गर्न पनि अनुरोध गरेका छन् । पथरीमा रहेको सिन भिलेज पाट्रि प्यालेसमा शनिवार र आइतबार दुई दिन वृहत कला सहित्य उत्सवको आयोजना भइरहेको छ ।