आरुबोटेमा मानबहादुर माखिमले नै सामूहिक हत्या गरेको प्रहरीको निष्कर्ष

आरुबोटेमा मानबहादुर माखिमले नै सामूहिक हत्या गरेको प्रहरीको निष्कर्ष

पाँचथर–पाँचथरको मिक्लाजुङ–३ आरुबोटे हत्या काण्डमा मानबहादुर माखिमको संलग्नता रहेको प्रहरीले निष्कर्ष निकालेको छ । आरुबोटेमा ६ जेठ राति एकै परिवारका नौजनाको सामूहिक हत्या भएको थियो । घटनापछि माखिम पनि झुन्डिएको अवस्थामा फेला परेका थिए । हत्याकाण्डमा प्रहरीका चार टोलीले अनुसन्धान गरेका थिए । जसमा ३३ वर्षीय माखिमले हत्या गरेको निष्कर्ष निकालिएको छ । यससम्बन्धी प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतबहादुर कार्कीले प्रदेश सभालाई जानकारी दिएका छन् ।

सांसदहरूले आरुबोटे काण्डको यथार्थ विवरण सार्वजनिक गर्न माग गरेपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कार्कीले बिहीबार प्रदेश सभामा अनुसन्धानको जानकारी दिएका हुन् । सामूहिक हत्या गर्ने माखिम बमबहादुर फियाकका कान्छा ज्वाइँ रहेको मन्त्री कार्कीले बताए । प्रहरी अनुसन्धानमा मानबहादुर नै हत्यारा भएको यथेष्ट प्रमाण पाइएको उनको भनाइ थियो ।

७५ वर्षीय बमबहादुरसँगै उनकी पत्नी ७५ वर्षीया पुर्चीमाया, छोरी ३५ वर्षीया मनकुमारी र नातिनी १० वर्षीया आसिकाको हत्या गरिएको थियो । त्यस्तै, बमबहादुरका जेठा ज्वाइँ ३४ वर्षीय धनराज सेर्मा, उनकी पत्नी ३५ वर्र्षीया जस्मिता, छोरी १२ वर्षीया युहाना, १० वर्षीया मुना र ६ वर्षीया इच्छाको हत्या गरिएको थियो । उनीहरूको हत्या गरेपछि मानबहादुरले झन्डिएर आत्महत्या गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । घटना स्थलमा भेटिएका प्रमाणहरु परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । प्रयोगशालाको रिपोर्ट आएपछि घटनामा अरुको पनि संलग्नता छरछैन भन्ने खुल्ने प्रहरीले वताएको छ ।

घटनाको संघीय प्रहरी एकाइ कार्यालय धरानका एसएपी शरद खत्री, अपराध अनुसन्धान ब्युरोका एसपी उमाप्रसाद चतुर्वेदी, प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान ब्युरोका इन्स्पेक्टर लेखनाथ दाहाल, प्रदेश प्रहरी प्रवक्ता सिद्धार्थ न्यौपाने र जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी नरेन्द्र कुँवरको टोलीले अनुसन्धान गरेका थिए ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्किले प्रहरीले समयमै माखिममाथि निगरानी गर्न नसक्दा ठूलो हत्याकाण्ड भएको बताएका छन् । बिहीबार प्रदेशसभामा जवाफ दिने क्रममा उहाँले यस्तो बताएका हुन् । स्थानीयले पनि नुनकाण्डदेखि नै शंकाको घेरामा रहेका माखिममाथि प्रहरीले निगरानी राखेको भए यस्तो ठूलो घटना नघट्ने बताएका छन् ।

विभत्स हत्याकाण्ड हुनु केही दिनअघि जस्मिता फियाकको घरमा सञ्चालन भएको तालिमका सहभागीलाई दिइएको थुक्पाको खाजामा सिसाजस्तो देखिने बस्तु मिसाइएको थियो । त्यतिखेर तालिममा सहभागी ८ जना बिरामी परेका थिए । नुनकाण्डमा स्थानीयले माखिमलाई शंका गरेका थिए । तर त्यस घटनाको प्रहरीले अनुसन्धान गरेको थिएन ।

सम्बन्धित खवर