फुङ्लिङ–मिक्वाखोला जोड्ने तमोर नदीमा ‘मोटरेवल पुल’ उद्घाटन

फुङ्लिङ–मिक्वाखोला जोड्ने तमोर नदीमा ‘मोटरेवल पुल’ उद्घाटन

ताप्लेजुङ–फुङ्लिङ नगरपालिका र मिक्वाखोला गाउँपालिका जोड्ने तमोर नदीमाथि मोटरेवल पुल निर्माण गरिएको छ। निर्माणाधीन मध्य तमोर जलविद्युत् परियोजनाले थुम्वावेशीमा पक्की मोटरेवल पुल निर्माण गरेको हो। मध्य तमोर जलविद्युत् परियोजनाको मुख्य प्रवर्द्धक सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ प्रालिले करिब ८ करोडको लागतमा निर्माण गरेको पुलको उद्घाटन गरिएको छ।

पुलको ६० मिटर लम्बाइ र ४४ टन भार क्षमता रहेकोे सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ प्रालिअन्तर्गत मध्यतमोर जलविद्युत् परियोजनाका संयोजक डा. मणिराज पोखरेलले जानकारी दिए। पुलको उद्घाटन जिल्ला सम्वनय समिति ताप्लेजुङका संयोजक घनेन्द्र मादेन, फुङ्लिङ नगरपालिका प्रमुख छत्रपति प्याकुरेल, उपप्रमुख बमबहादुर भट्टराई (तारा), प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी, मिक्वाखोला गाउँपालिका अध्यक्ष रामकुमार सावाँले संयुक्तरूपमा रिवन काटेर गरे। पुल निर्माण भएसँगै ताप्लेजुङको तमोर नदिपारि रहेका अधिकांश गाउँपालिकामा वर्षा याममा पनि यातायातका साधन आवतजावत हुने भएका छन्। तमोर नदीमा पुल बनेसँगै गाउँपालिकालाई थप राहत पुगेको त्यहाँका बासिन्दाले बताएका छन्।

आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई यातायातमा सहजता प्रदान गर्न परियोजनाले यो पक्की पुलको निर्माण गरेको परियोजना संयोजक पोखरेलले बताए। करिब १० महिनामा नै यो पुल बनेको हो। पुल बनेपछि मिक्वाखोला गाउँपालिकाको खोक्लिङ, लिवाङ, साँवा, पापुङ तथा फक्ताङ्लुङ गाउँपालिकाका सावदिन र खेजेनिमका स्थानीयलाई सहज हुनेछ। यसअघि ,अस्थायीरूपमा खोलाबाट नै सवारीसाधन आवतजावत गर्ने गरेको थियो। प्रभावित क्षेत्रका स्थानीयको मुख्य माग रहेको यो पुलको निर्माण भएसँगै जलविद्युत् परियोजनामा आवश्यक निर्माण सामग्री निर्माणाधीन क्षेत्रका पुर्याउनसमेत सहज भएको छ।

सम्बन्धित खवर