कन्काईमाथि फराकिलो जित निकाल्दै मेचीनगर फाइनलमा, उपाधिका लागी देउमाई सँग भिड्ने

कन्काईमाथि फराकिलो जित निकाल्दै मेचीनगर फाइनलमा, उपाधिका लागी देउमाई सँग भिड्ने

इलाम–कन्काई नगरपालिकालाई फराकिलो अन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन मेचीनगर नगरपालिका करफोकमा जारी दोश्रो सूर्योदय मेयरकपको फाइनल प्रवेश गरेको छ।

मेचीनगरले कन्काईलाई ७–० फराकिलो गोल अन्तरले हरायो। मेचीनगरको जितमा खमिर गिल्सन कन्दङवाले ह्रयाट्रिक गरे। त्यसैगरी एन्जल गुरुङ, पुजन उपरकोटी, अशोक खवास र पुजन राईले एक एक गोल गरे। खेलको ८ औँ मिनेटमा निशान लिम्बूको क्रसमा जाली चुमाउदै खमिर गिल्सनले सुरुवाती अग्रता दिलाएका थिए। २९ औँ मिनेटमा गोलरक्षकलाई बिट गराउँदै एन्जल गुरुङले अग्रता २–० बनाए।

इन्जुरी समयमा निशानकै क्रसमा खमिरले व्यक्तिगत दोश्रो गोल गरेपछि मेचीनगरले पहिलो हाफमा ३ गोलको अग्रता बनाएको थियो। दोश्रो हाफमा आक्रमक बनेको मेचीनगरका लागि ४६ औँ मिनेटमा खमिर गिल्सनले ह्रयाट्रिक पूरा गरे। ५५ औँ मिनेटमा पुजन उपरकोटीले अग्रता ५–० बनाए। ६३ औँ मिनेटमा अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका पुजन राईले गोल गरे। ७८ औँ मिनेटमा अशोक खवासले गोल गरेपछि ७–० गोल अन्तरको फराकिलो हार व्यर्होदै कन्काई सेमिफाइनलबाटै बाहिरियो।

खेलमा मेचीनगरले दबाब सृजना गरेपछि कन्काई निरीह बनेको थियो। अधिकांश समय पोष्ट आक्रमण बुनेको मेचीनगरको प्रहार रोक्न कन्काईका गोलरक्षक मनिष मगर व्यस्त भएका थिए। हिलाम्मे खेल मैदानमा गोल गर्ने केही राम्रा अवसर मेचीनगरले गुमाएको थियो। १९ औँ मिनेटमा निशेन लिम्बूको क्रसमा पाएको सुन्दर मौका हिलो कारण निशान लिम्बूले सदुपयोग गर्न सकेनन्। ४० औँ मिनेटमा अशोक खवासको क्रसमा खमिर गिल्सको हेडर बाहिरिएको थियो।

कन्काईको कमजोर प्रर्दशन भएपछि मेचीनगरका कप्तान तथा गोलरक्षक दिनेश थापा मगर निक्कै फुसदिलो देखिन्थे। जितसँगै मेचीनगरले कम्तीमा १ लाख रुपैया सुरक्षित गरेको छ। मेचीनगरले माई नगरपालिकालाई ३–० ले हराउँदै सेमिफाइनल पुगेको थियो भने कन्काईले इलाम नगरपालिकालाई २–० ले हराएको थियो।

उपाधीको लागि मेचीनगरले आगामी जेठ १८ गते देउमाई नगरपालिकाको सामना गर्नेछ। देउमाई पहिलो सेमिफाइनलमा शिवसतासीलाई ४–२ गोल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेकोछ। प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख रुपैया प्राप्त गर्नेछ। गत संस्करणमा मेचीनगरले आयोजकलाई हराउदै उपाधी जितेको थियो।

सम्बन्धित खवर