उर्लाबारी २ मा विकासको लहर, घर भत्काएर भएपनि बाटो बनाउछौँ ः स्थानीय

उर्लाबारी २ मा विकासको लहर, घर भत्काएर भएपनि बाटो बनाउछौँ ः स्थानीय

भीमराज अधिकारी, पथरी
मोरङ उर्लाबारी नगरपालिकाको २ नं. वडामा विकासको लहर चलेको छ । वडाका धेरै जसो कामहरु सम्पन्न हुदैँ गएका छन् । आफ्नो घर गुहाली भत्काएर पनि बाटो बनाउने कार्यमा स्थानीय लागि परेका छन् ।

वडाको सबैभन्दा ठुलो बजेटबाट सिद्धार्थ गुम्बा देखि वडा कार्यालय सम्मको बाटोको ग्राभेल गर्ने काम थालिएको छ । गाउँमा विकासका काम गर्नका लागि निकै कठिन हुने गरेको पाइन्छ । यस योजनामा पनि थुप्रै बाधा तथा अवरोधहरु आएको उपभोक्ता समितिका अध्यक्ष नरबहादुर धिमालले बताए । यस अघि पनि उपभोक्ता समिति गठन गरिएको थियो । तर विवाद वढी भएपछि उपभोक्ता समितिले काम गर्ने वातावरण बनेन । पूनः स्थानीयसंग सहकार्य गरेर हाल धिमालको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको हो । वडाको महत्वको योजनाका रुपमा रहेको यो सडकका लागि नगरले ३७ लाख रुपैया विनियोजन गरेको थियो । स्थानीयको ९ लाख २५ हजार श्रमदान सहित ४६ लाख २५ हजार लागतको सो सडक असार १५ सम्ममा सम्पन्न हुने धिमालले बताए ।

ग्रामिण क्षेत्रमा काम गर्नका लागि निकै कठिन हुने गरेको उपभोक्ता समितिका संचिव श्याम राईले बताए । गाउँलेसंग सहकार्य गरेपछि बल्ल काम गर्ने वातावरण बनेको राईको भनाइ छ ।

आफु निर्वाचित भएपछिको सबैभन्दा ठुलो बजेटको योजना यही भएको वडा अध्यक्ष राजन कुमार कँडेल बताउँछन् । यो सडक ४० फुट चौँडाइ र ८४५ मिटर लम्बाइको हुने कँडेलले जानकारी दिए । सडकको दुवैपटी साइडमा पक्की ड्रेन समेत निर्माण हुने र १ नं. ग्राभेल गर्ने योजना रहेको कडेँलले बताए । विकासको काम गर्न निकै कठिन हुने गरेको भएता पनि स्थानीयसंग जनप्रतिनिधिले आफैँ समन्वय गरेपछि केही सहज भएको कडेँल बताउछन् । वडामा कडेँलको जताततै चर्चा हुने गरेको छ । शारीरिक रुपमा केही अशक्त रहेको भएता पनि जनताका हरेक समस्यामा उनि लागि परेको स्थानीयहरु बताउछन् ।

आफ्नो किचन चै भत्कदा पनि विकास हुन्छ भने आफु खुसी रहेको स्थानीय धनमाया लिम्बूले बताइन् । उनको आधा किचन सडक निर्माणका क्रममा भत्किएको छ । सडक आएपछि आफैलाई सहज हुने भएकाले आफु खुसी रहेको लिम्बूले बताइन् । यस्तै सडक आउने भएपछि स्थानीय किरण राई पनि हर्षित छन् । उनले आफ्नो गाउँमा सडक आउदा हरेक समयमा सहज हुने भन्दै खुसी प्रकट गरे । अहिले घर जग्गा सडकमा गएपनि विरामी हुँदा एम्बुलेन्स, दम्कल, ठुला गाडी ल्याउन हरेक कुरामा सहज हुने राईले बताए ।



सम्बन्धित खवर