खानेपानी आयोजनामा २० लाख भ्रष्टाचारको आरोप, अख्तियारद्वारा छानबिन सुरु

खानेपानी आयोजनामा २० लाख भ्रष्टाचारको आरोप, अख्तियारद्वारा छानबिन सुरु

संखुवासभा–खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अनियमितताबारे अख्तियारले छानबिन थालेको छ । खानेपानी संस्थाले निर्माण कम्पनीलाई आयोजना सम्पन्न नगरी आयोजना सम्पन्न भएको सिफारिस दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीले छानबिन थालेको हो ।

संखुवासभा सदरमुकाम खाँदबारी र आसपासको क्षेत्रमा खानेपानी वितरण गर्दै आएको खानेपानी संस्थामा आयोजनाको सुरुवातदेखि नै विभिन्न अनियमितता हुने गरेको जनगुनासो बढेको थियो । खानेपानी संस्थामा ठूलो रकम लगानी भए पनि निर्माण चरणदेखि नै विभिन्न बाहनामा लागत रकम बढ्दै गएको तर त्यसको प्रतिफल भर्न सर्वसाधारणले नपाएपछि सम्पूर्ण कागजात माग गरिएको थियो । खानेपानी संस्था अध्यक्ष नरेन्द्र राईसँग अख्तियारका दुईजना अधिकृतले सामान्य सोधपुछपछि सम्पूर्ण कागजात छानबिन गर्न थालेको हो ।

खाँदबारी खानेपानी आयोजनामा सुरुवाती चरणदेखि अनियमितता भएको स्थानीयको आरोप लगाउँदै आएका छन् । खानेपानी संस्थामा आर्थिक वर्ष ०७४÷७५ मा कुल २० लाख तीन हजार ५७९ रुपैयाँबराबरको अनियमितता भएको प्रतिवेदन सार्वजनिक भएको थियो । त्यसमा सबैभन्दा बढी काउन्टर सहायक सुरेश ढकालले १३ लाख ९५ हजार ४७ रुपैयाँ अनियमितता गरेको उल्लेख छ । खानेपानी कार्यालयमा आर्थिक रकम हिनामिना व्यापक भएको जनगुनासो आएपछि महसुल र उपभोक्ताबाट उठाएको रकमबारे छानबिन गर्न ०७५ माघ १५ गते तत्कालीन खाँदबारी नगरपालिकाका लेखाअधिकृत रुद्रमणि श्रेष्ठले छानबिन गरी गएको १५ वैशाखमा लेखापरीक्षण प्रतिवेदन बुझाएका थिए ।

खानेपानी संस्था सम्पन्न गर्न खानेपानी सबडिभिजनबाट ५० प्रतिशत र नगरविकास कोषबाट ४५ प्रतिशत तथा स्थानीय उपभोक्ताबाट ५ प्रतिशत रकम लगानी भएको छ । स्थानीय उपभोक्ताबाट ५ प्रतिशतबापत दुई करोड ६८ लाख ९५ हजार ११४ रुपैयाँ संकलन भएको छ भने नगरविकास कोषबाट २० करोड २ लाख ऋण लिइएको थियो । हालसम्म आयोजनाको निर्माण खर्च ४५ करोड ५१ लाख रुपैयाँ पुगेको खानेपानी संस्थाका अध्यक्ष राईले बताए । खानेपानी आयोजना सदरमुकाम खाँदबारीबाट ४३ किमि टाढा मकालु गाउँपालिका ५ सिमाली खोलामा मुहान छ । खाँदबारीमा दुई हजार सात सय धारा वितरण गरिएको छ।
(स्रोत–नयाँपत्रिका)    

 

सम्बन्धित खवर