मोरङ, नेपाल कम्युनिष्ट पाटी विप्लवको बन्दको आवहान भएको सोमबार एका विहानै मोरङका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेको छ । सो बस्तु बम भएको हुन सक्ने आशंका गरिएको छ ।
बिहानै विराटनगर र बुढीगांगा गाउँपालिकाको बिचमा पर्ने बुढीगंगा गाउँपालिका १ पहाडगछ मार्गमा शंकास्पद बस्तु फेला परेको हो । बिहान बिस्फोटक जस्तो देखिने बस्तु स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर गरिए लगत्तै पुगेको प्रहरीको टोलीले बम भएको हुनसक्ने आशंकामा आर्मीको बिशेषज्ञ टोलीलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै मोरङको सुन्दरहरैंचा–७ ढडियास्थित पुर्व–पश्चिम राजमार्गको किनारामा कुकर बम भेटिएको छ । राजमार्ग छेउमा रहेको बिजुलीको पोल नजिकै उक्त बम फेला परेको हो । बम भेटिएको स्थानलाई सुरक्षाकर्मीले घेरा हालेर राखेको छ ।
रातो तारले कुकरलाई बेरेर राखिएको अवस्थामा फेला परेको हो । उक्त कुकरभित्र बिस्फोटक पदार्थ भए नभएको यकिन हुन सकेको छैन । बम कसले राखेको हो भन्ने नखुले पनि सोमबार विप्लव माओवादीले आह्वान गरेकोले बम पनि सोही समुहले राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली बम भेटिएको स्थानमा पुगिसकेको जनाइएको छ ।
विराटनगरबाट चल्ने लामा दुरीका सवारी साधनहरु संचालनमा आउन सकेको छैन । बन्दको कारण यात्राका लागि बसपार्कमा गएका सर्बसाधारण सवारी साधन नचलेपछि फर्किएका छन् । विराटनगरमा शैक्षिक संस्था, उद्योग कलकारखाना तथा यातायातका साधनहरु चल्न नसकेका हुन् । बन्दको प्रभाव विहानै देखि देखिएको छ ।