विप्लव नेकपाले १३ गते देशभर बन्द गर्ने घोषणा

विप्लव नेकपाले १३ गते देशभर बन्द गर्ने घोषणा

मोरङ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जेठ १३ गते देशभर बन्द गर्ने घोषणा गरेको छ । युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको बिरोधमा १३ गते नेपाल बन्दको घोषणा गरेको बिज्ञप्ति मार्फत जानकारी दिएको हो ।

घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको भन्दै गत बुधबार एक विज्ञप्तिमार्फत जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको थियो ।

सांगठनिक कामको सिलसिलामा गत मंगलबार भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा युवा संगठनका तीर्थराज घिमिरे कमरेड राजुलाई केपी ओली सरकारको ठाडो आदेशमा सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भीडन्तको नाममा हत्या गरेकोप्रति नेकपाले विज्ञप्ति मार्फत घोर आपत्ति जनाएको छ ।

नेकपाले हत्या जस्तो निकृष्ट हर्कतको सबै मानवअधिकार कर्मी, नागरिक समाज, पत्रकारले डटेर विरोध गर्नुका साथै कमरेड तीथराज घिमिरेको हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न विज्ञप्ति मार्फत माग पनि गरेको छ ।

महासचिव विप्लवले सरकारले चलाएको हत्या हिंसाका विरुद्ध पार्टीले प्रतिरोध गर्नुको विकल्प नरहेको अवस्थामा तत्कालका लागि बन्द सहितको संघर्षका कार्यक्रम घोषणा गरिएको जनाएका छन् ।

उक्त कार्यक्रमलाई उद्योग व्यावसायी, यातायातकर्मी, शिक्षण संस्थान लगायतका सबैले सहयोग र ऐक्यबद्धता जाहेर गर्नुका साथै सहयोग र समर्थन गर्न नेकपाले विज्ञप्तिमार्फत अपिलसमेत गरेको छ ।

भोजपुरको षडानन्द नगरपालिका २ का घिमिरेलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको जनाएको थियो। प्रहरीको गोली लागेर घाइते घिमिरेको मंगलबार उपचारको क्रममा ज्यान गएको थियो ।
समाचार श्रोत ः तामाचुली खबर



सम्बन्धित खवर