पाँचथर पछि झापामा पनि सामुहिक हत्याको प्रयास

पाँचथर पछि झापामा पनि सामुहिक हत्याको प्रयास

झापा, पाँचथरमा २ वटा परिवाका ९ जनाको ज्यान जानेगरी भएको सामुहिक हत्याको घटना लगतै झापामा पनि सामुहिक हत्याको प्रयास भएको छ । झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा बुधबार राति बाहिरबाट प्रवेश गरेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार राति भएको उक्त आक्रमणमा ४३ वर्षीया आरती चौहान बुढाथोकी र उनकी आठ वर्षीया छोरी अर्पणा बुढाथोकी घाइते भएका छन् । आक्रमणको घटना राति भए पनि बिहीबार बिहान ५ बजेतिर मात्र घाइते अवस्थाकी छोरी अर्पणाले गुहार मागेको सुनेर जाँदा घटनाबारे थाहा भएको छिमेकी गोकुल हुमागाईंले बताए । एकतले पक्की सो घरको एउटा कोठामा आरती र उनकी छोरी बस्थे भने अर्को कोठामा प्यारालाइसिसबाट पिडीत वृद्धा सासु थिइन् ।

टाउकोमा धारिलो हतियारको चोट लागेकी घाइते आरतीलाई उपचारका लागि बिर्तामोडको बी एण्डसी हस्पिटल लगिएको र सामान्य घाइते अवस्थाकी उनकी छोरी अर्पणालाई तत्काल संरक्षणका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

घाइते आरतीका पति ओमबहादुर बुढाथोकी वैदेशिक रोजगारीको सिलसिलामा दुबइमा छन् । सो घरसँगै जोडिएको अर्को घरमा कोही पनि बस्दैनन् भने अरु घर केही टाढा छन् । छिमेकी बिहान घटनास्थल पुग्दा एउटा कोठामा घाइते आरतीलाई अर्धनग्न अवस्थामा बेहोस फेला पारेका थिए भने उनको टाउकोबाट बगेको रगतले भुइँमा आहाल भएको थियो । छोरी अर्पणा रोइरहेकी थिइन् । बिरामी सासु अर्को कोठामा सुतिरहेकी थिइन् ।

गाउँलेले खबर गरेपछि इलाका प्रहरी कार्यालय धुलावारीको टोली घटनास्थल पपुगेको थियो भने जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दिनेश मैनाली आफैं प्रहरी टोली लिएर घटनाको अनुसन्धानमा जुटेका छन् । उनले घटनाको अनुसन्धान भइरहेको जनाउँदै अभियुक्त चाँडै पत्ता लाग्ने बताए ।

बुधबार राति निकै ठूलो पानी परेको थियो । पानी परेकै बेला आक्रमणकारी सो घरमा पसेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाकी प्रत्यक्षदर्शी नाबालिका अर्पणाले दुई व्यक्ति कोठामा पसेर आक्रमण गरेको र आफूलाई कराएमा मारिदिने धम्की दिँदै घाँटीमा हातले च्यापेर हुत्याइदिएको बताएकी छन् ।


सम्बन्धित खवर