ताप्लेजुङ–विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहण गर्न गएका दुई भारतीय नागरिकको ज्यान गएको छ । अन्य एकजना आरोही सम्पर्क्विहीन भएका छन् । ज्यान गुमाउने आरोहीहरुमा पश्चिम बंगालका ४६ वर्षीय कुन्तल कार्नार र ४८ वर्षीय विप्लव वैद्य रहेको पुष्टि भएको छ ।
बुधबार ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजङ्घा मुख्य शिविरमा पुगेर फर्कने क्रममा वैद्यको चौथो शिविरमाथिको क्षेत्रमा ज्यान गएको हो । त्यसैगरी कार्नारको आरोहणकै क्रममा ज्यान गएको आरोहणको जिम्मा लिएको ’पिक प्रमोशन कम्पनी’ का प्रबन्ध निर्देशक केशव पौडेलले बताए ।
त्यसैगरी आरोहण गर्ने क्रममा चिप्लिएर सम्पर्क्विहीन भएका एकजनाको खोजी कार्य भैरहेको छ । ज्यान गुमाउनेहरुको शव उद्धारको प्रयास भैरहेको छ । पर्वतारोहण मौसमको समयमा सयौँको संख्यामा पर्वतारोहीहरु हिमाल आरोहण गर्न आउने गर्दछन् । कञ्चनजङ्घालाई विश्वको अति जोखिमपूर्ण हिमालको रुपमा लिइन्छ । मौसमको केही फेरबदल हुँदा पनि यहाँ जोखिम बढ्ने गर्दछ ।