म्यानचेस्टर सिटीलाई प्रिमियर लिग उपाधि

म्यानचेस्टर सिटीलाई प्रिमियर लिग उपाधि

एजेन्सी–साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । आइतबार भएको अन्तिम खेलमा ब्राइटन एन्ड होभ एल्बियनको घरेलु मैदानमा सिटीले ४–१ को फराकिलो जित दर्ता गर्दै उपाधि पक्का गरेको हो ।

खेल दौरान एक समय सिटी १–० ले पछाडी रहँदा लिभरपुलले अग्रता लिँदै उपाधि होडमा अगाडी रहने देखिएको थियो । ब्राइटनका लागि खेलक २७ औं मिनेटमा भेट्रान फरवार्ड ग्लेन मरेले पास्कल ग्रसको पासमा गोल गरेका थिए । तर त्यसको एक मिनेट नबित्दै सर्जियो अगुएरोले खेललाई बराबरीमा ल्याए । एमेरिक लापोर्टले खेलको ३८ औं मिनेटमा कर्नरमा हेडरमार्फत गोल गर्दै सिटीलाई उपाधि होडमा अगाडी बढाए ।

दोस्रो हाफको ६३ औं मिनेटमा रियाद माहरेजले सिटीको अग्रता बढाए । उनले डेविड सिल्भाको पासलाई गोलमा परिणत गरे । ७२ औं मिनेटमा इल्काए गुन्डोगनले फ्रिकिकमा गोल गर्दै सिटीको उपाधि पक्का गरेका थिए ।

अन्तिम खेलपछि सिटीले ३८ खेलमा ३२ जित २ बराबरी र ४ हारसहित ९८ अंक जोड्यो । दोस्रो स्थानको लिभरपुलले ३८ खेलमा ३० जित, ७ बराबरी र १ हार मात्र बेहोर्यो । लिभरपुलले आफ्नो खेलमा वल्भ्सलाई २–० ले पराजित गरेपनि उपविजेतामा सिमित भयो । लिभरपुलका लागि दुवै गोल साडियो मानेले गरे । उनले पहिलो हाफको १७ औं र दोस्रो हाफको ८१ औं मिनेटमा गोल गरे ।

सम्बन्धित खवर