नेपालमै पहिलो पटक शुरु भएको रियालिटी सो को बन्छ करोडपतिमा पहिलो करोडपति बन्ने ब्यक्ति बिराटनगरका राजिव जैन भएका छन् । एपीवान एचडी टेलिभिजनबाट भर्खरै प्रसारण भएको को बन्छ करोडपतिमा बिराटनगरका राजिव जैनले १ करोड प्राप्त गरेका हुन् ।
करोडपति हुनेमा उनै पहिलो ब्यक्त्ति हुन् । एपीवान टेलिभिजनको कार्यक्रम को बन्छ करोडपतिको ४२ औ अंकमा उनले १५ वटै प्रश्नको जवाफ दिएर १ करोड प्राप्त गरी करोडपति बनेका हुन् । १ करोड प्राप्त गरे विश्व भ्रमणमा निस्कने सोचमा रहेका राजिवको लागि आजको जीतले उनलाई बाटो खुल्ला गरेको छ ।
उनलाई सोधिएको अन्तिम १ करोडको प्रश्न थियो, ‘ २००७ सालको प्रजातन्त्र पछिको पहिलो ऐतिहाँसिक चुनाव कहिले घोषणा भएको थियो ?’ भनि सोधिएको प्रश्नमा उनले ‘ बिक्रम सम्वत २०१४ माघ १९ गते जवाफ दिए पछि १ करोड हात पारेका हुन् ।
विराटनगरमा जन्मिएका ४३ बर्षिय राजिब विगत १० बर्षदेखि ललितपुरको सानेपामा बस्दै आएका छन् । विराटनगरमा नै रहेको अरनिको बोर्डिङ स्कुलबाट एसएलसी दिएका बिद्यार्थी हुन् । भारतमा बसेर पढेका बेला उनी कौन बनेगा करोडपतिमा धेरै पटक प्रयास गर्दा पनि नभएपछि फेरी नेपालमा शुरु भएको को बन्छ करोड पतिमा छनौटमा परेको उनले कार्यक्रमको दौरान भनेका छन् । १८ बर्षदेखि को बन्छ करोड पतिको लागि प्रयासरत उनी आजको कार्यक्रममा पहिलो १ करोड प्राप्त गर्ने ब्यक्ति हुन् ।
यसअघि नै को बन्छ करोडपतिको प्रथम सिजनको पहिलो करोडपति घोषणा बारे एसआरविएन (को बन्छ करोडपति)ले आफ्नो प्रोमो भने सार्बजनिक गरिसकेको थियो । को बन्छ करोडपति एपीवान टेलिभिजनबाट हरेक शनिवार, आईतवार र सोमबार साँझ ८ः४५ देखि प्रसारण हुँदै आएको छ ।