भीमराज अधिकारी, पथरी
प्रदेश स्तरीय तेस्रो अमरदह ढल्के जोवन गोल्डकपमा आइतबार देखि क्वाटर फाइनलका खेलहरु सुरु भएको छ । पहिलो क्वाटर फाइनलमा संखुवासभालाई १–४ ले हराउँदै उर्लाबारी भेट्रान सेमिफाइनल प्रबेश गरेको छ । निर्धारित समयमा संखुवासभाले १ गोल मात्र गर्न सक्यो । थुप्रै अवसरहरु पाएको संखुवासभाले बललाई सही दिशा दिन नसक्दा उर्लाबारीसंग हार व्यहोर्न पुग्यो ।
राष्ट्रिय टोलीका खेलाडी सहित मैदान उत्रिएको उर्लाबारी भेट्रानको लागि खेलको १० औँ मिनेटमा टंक लामाले गोल गर्दै अग्रता लिएका थिए । कम्जोर डिफेन्सको फाइदा उठाउदै खेलको २५ औँ मिनेटमा बुद्ध चेम्जोङ र २६ औँ मिनेटमा कप्तान अनिल गुरुङले गोल गर्दै उर्लाबारीलाई ३ गोलको अग्रता बनाए ।
दोस्रो हाफमा केही सुधारीएको संखुवसभाले २६ औँ मिनेटमा दिपक राईले १ गोल गर्दै टिमलाई सान्तवना दिलाए । संखुवासभाका दिल बहादुर लिम्बुले डिबक्समा फल गरेपछि पेनाल्टी पाएको उर्लाबारीले दिपक गुरुङको प्रहारमा गोल गर्दै ४–१ ले विजयी भयो ।
खेलको म्यान अफ द म्याच उर्लाबारीका बुद्ध चेम्जोङ घोषित हुँदै नगद २ हजार प्राप्त गरे । प्रदेश १ को सबैभन्दा वढी धनरासीको ढल्के जोवन गोल्डकप प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजार र उप विजेताले १ लाख ५१ हजार प्राप्त गर्ने छ। सोमबारको खेल तेह्रथुम भेट्रान र सशस्त्र प्रहरी बल पकलि बिच हुने आयोजक ढल्के जोवन युवा क्लवले जनाएको छ ।