लेटाङमा मुसा मार्न भनेर राखिएको विषादी खाँदा नाबालकको मृत्यु

लेटाङमा मुसा मार्न भनेर राखिएको विषादी खाँदा नाबालकको मृत्यु

लेटाङ–मुसा मार्न भनेर राखिएको विषादी खाँदा मोरङको लेटाङ नगरपालिका–९ मा १९ महिने नाबालकको मृत्यु भएको छ । स्थानीय दिलु बरालका नाबालक छोरा राजले मुसा मार्न पानीमा घोलेर थालमा राखेको विष अन्जानमा सेवन गरेको प्रहरीले जनाएको छ ।

‘मुसा मार्ने विषादी पानीमा घोलेर थालमा राखिएको रहेछ,’ इलाका प्रहरी कार्यालय लेटाङका इन्सपेक्टर योगराज खतिवडाले भने, ‘खेल्नै जाने क्रममा नजानेर बच्चाले सेवन गरेका कारण घटना भएको पाइयो ।’ प्रहरीका अनुसार विषादी घोलेर थालमा राखिएको पानी छोराले खाँदै गरेको अवस्थामा बुधबार दिउँसो १ बजेतिर आमा दिलुले देखेकी थिइन् ।

पानी खाएको केही बेरमै बिरामी परेपछि नाबालकलाई उपचारका लागि धरान लगिएको थियो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । उपचारका क्रममा बिहीबार राति नाबालकको मृत्यु भएको प्रहरीले जनाएको छ । कोसी अस्पताल विराटनगरमा शव पोस्टमार्टम गरेर शुक्ररबार दिउँसो परिवारको जिम्मा लगाइएको छ ।

सम्बन्धित खवर