मोरङ–मोरङको पुरानो सदरमुकाम तथा पूर्वी नेपालकै पहिलो ठूलो बजार मध्ये पर्ने रंगेली बजार भत्कने भएको छ । मुख्य हुलाकी राजमार्ग सडक ६ लेनमा विस्तार हुने भएपछि रंगेली बजारका धेरै घर भत्कने भएका हुन् ।
हुलाकी राजमार्ग निर्देशनालयले सडक विस्तारका लागि नगरपालिकालाई सडकको सिमा भित्र रहेका संरचनाहरु हटाउन पत्राचार गरीसकेको छ ।
डिभिजन सडक कार्यालय विराटनगरले गत वर्ष रंगेली नगरपालिकालाई सडक ऐन बमोजिम सडक सिमा निर्धारण गरी विराटनगर–रंगेली – उर्लावारी क्षेत्रलाई सहायक मार्गको रुपमा १५–१५ मिटर र ६–६ मिटर सेड व्याक निर्धारण सडक क्षेत्र तोकेर संरचना हटाउन निर्देशन गरेको छ ।
शहरी सडक मापदण्ड बमोजिम सडक खालि गराउने सर्वपक्षीय निर्णयसँगै साँघुरो रंगेली बजार अब फराकिलो सडक बनेसँगै भत्कने भएको रंगेली नगरपालिकाका मेयर दिलिप वगडीयाले जानकारी दिए ।
रंगेली नगरपालीकाले हाल १०० फिट सडक खाली गराउनका लागि सडक क्षेत्र भित्र रहेका संरचना हटाउन सुरु गरेको छ । असार मसान्त भित्रमा सडक क्षेत्र खालि गर्न अनुरोधसहित सडक आसपासमा बसोबास गरेका स्थानीयलाई पत्र थमाएको छ। छ लेनको सडक विस्तार गर्ने भएसंगै पुरानो रंगेली बजारले मुहार फेर्ने स्थानीको बुझाई छ ।