दोस्रो चरणको लागुऔषध बिरुद्धको अभियान शुभारम्भ संगै CAN सेन्टरको उद्घाटन

दोस्रो चरणको लागुऔषध बिरुद्धको अभियान शुभारम्भ संगै CAN सेन्टरको उद्घाटन

मोरङ–जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनमा तथा जिवन बिकास समाज कटहरीको सहयोगमा दोस्रो चरणको लागुऔषध बिरुद्धको अभियानको शुभारम्भ तथा CAN( Campaign Against Narcotic) सेन्टरको उद्घाटन भएको छ । उक्त कार्यक्रमको बिराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले आज एक कार्यक्रमका बिच बिधिवत रुपमा शुभारम्भ तथा CAN सेन्टरको नव निर्मित भवनको समुद्घाटन गरेका छन् । समुद्घाटन कार्यक्रम पश्चात बोल्दै प्रमुख अतिथी पराजुलीले लागू औषधको समस्याले समाजलाई बिकृति तर्फ धकेलिरहेको हुँदा यो समस्या प्रमुख सुरक्षा चुनौतीका रुपमा रहेको बताए । उनले चोरी, लुटपाट, अपहरण तथा कर्तब्य ज्यान जस्ता बिभिन्न सामाजिक अपराधहरुको जड पनि लागू औषध दुर्व्यसनीनै रहेको हुँदा यो अभियानले बिभिन्न किसिमका सामाजिक अपराधहरुलाई निरुत्साहित गर्ने अपेक्षा राखिएको बताए ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले सकारात्मक सोचका साथ सम्बद्ध सबैको सकारात्मक पहल भएमा लागुऔषध अपराधको रोकथाम, उपचार, पुनर्स्थापना तथा नियन्त्रणको क्षेत्रमा लक्ष्य प्राप्त गर्न सकिने बताए । उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले हाम्रो समाजको ठूलो जमात लागू औषधको दलदलमा फसिरहेको र यसबाट हाम्रो सामाजिक संरचनात्मक बिकासलाई नै नकारात्मक दिशा तर्फ धकेलिरहेकोले लागू औषध दुर्व्यसन, ओसार(पसार, खरिद बिक्री जस्ता अपराधबाट युवा जमातलाई जोगाउने अभिप्रायका साथ सरोकारवाला सबै पक्षहरुसंग समन्वय गर्दै उल्लेख्य मात्रामा रहेको लागू औषध दुर्ब्यसनीहरुलाई लक्षित गरी दोस्रो चरणको यो कार्यक्रम “लागू औषध अपराध बिरुद्धको अभियान” ( Campaign Against Narcotic) लागू गरिएको बताए।

पहिलो चरणको कार्यक्रम २०७५ साल भाद्र २५ गतेबाट पौष २ गते सम्म ९० दिन संचालन गरिएको थियो । कार्यक्रममा बेलवारी नगरपालिका, सुनवर्सी नगरपालिकाका प्रमुखहरु, उद्योगी व्यवसायीहरु, स्थानीय जनप्रतिनिधीहरु, सामुदायिक सेवा केन्द्रका पदाधीकारीहरु, नागरीक समाजका अगुवाहरु, संचारकर्मीहरु स्थानीयवासी लगायत करिव ३०० जनाको सहभागीता रहेको थियो ।

सम्बन्धित खवर