झापामा निर्माणाधीन पोखरीमा  डुबेर १५ वर्षीय किशोरको मृत्यु

झापामा निर्माणाधीन पोखरीमा  डुबेर १५ वर्षीय किशोरको मृत्यु

झापा–झापामा निर्माणाधीन पोखरीमा डुबेर किशोरको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका– ९ मा निर्माणाधीन पोखरीमा डुबेर १५ वर्षीय प्रनिल प्रसाईंको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय धुलाबारीका अनुसार मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नंं १ ले पर्यटन प्रवद्र्धनका लागि बनाउँदै गरेको पोखरीमा पौडी खेल्ने क्रममा उनको शनिबार दिउँसो मृत्यु भएको हो ।

साथीसँग पौडी खेल्न पोखरीमा पसेका प्रसाईं बाहिर ननिस्किएपछि साथीहरुले घरमा आएर आफ्ना अभिभावकलाई घटनाबारे जानकारी दिएका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले शवलाई पोखरीबाट बाहिर निकालेको थियो ।

मृतकका बुवा भानु प्रसाईं मेचीनगर नगरपालिकाका पूर्वनगर प्रहरी हुन् । समितिका अध्यक्ष मुकेश सुब्बाका अनुसार सामुदायिक वन क्षेत्रमा सीमसार विकास गर्न दुई पोखरी निर्माणाधीन अवस्थामा छन् । निर्मार्णाधीन पोखरीमा वन समितिले पौडी खेल्न प्रतिबन्ध लगाएको भए पनि वन हेरालु खाना खान गएको बेला दुर्घटना भएको थियो । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।(रासस)  

सम्बन्धित खवर