भीमराज अधिकारी, पथरी
तेस्रो अमरदह ढल्के जोवन गोल्डकपको तयारी पुरा भएको छ । मोरङको सुनवर्षी नगरपालिका वडा नं. २ अमरदहमा रहेको ढल्के जोवन युवा क्लवको आयोजनामा २१ ग्ते देखि प्रदेश नं. १ स्तरीय ढल्के जोवन गोल्डकप आयोजना हुदैँछ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा सोही क्षेत्रबाट निर्वाचित संघीय सांसद डा. मिनेन्द्र रिजालले गर्ने कार्यक्रम तय भएको अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभयो ।
वैशाख २१ देखि जेष्ठ ७ सम्म चल्ने गोल्डकपको तयारी पुरा भएको आयोजकले जनाएको छ । उद्घाटन सत्रका लागि स्टेज निर्माण, स्वागत गेट, अतिथि स्वागत व्यवस्थापन, उद्घाटन सत्रका लागि विभिन्न जातजातीका झाकीँ लगाएतका कामहरु सम्पन्न भइसकेको तामाङले जानकारी दिनुभयो । उद्घाटन सत्र भव्य बनाउनका लागि आयोजक लागी परेको तामाङले बताउनुभयो ।
गोल्डकपमा सहभागी हुने दर्शकहरु मध्येबाट १ जना भाग्यशाली बिजेताले बम्पर उपहारमा १५० सिसिको पल्सर बाइक पनि पाउने भएका छन् । बिजेताको घोषणा गोल्डकपको फाइनलका दिन गोला प्रथाबाट गरिने आयोजकले जनाएको छ । लक्कि ड्र मा सहभागिताका लागि रु १ हजारको टिकट राखिएको सचिव विनोद कुमार राजवंशीले जानकारी दिनुभयो । गोल्डकप हेर्नका लागि भने टिकट लाग्ने छैन् । लक्कि ड्र का लागि मात्रै टिकटको व्यवस्थापन गरिएको राजवंशीले बताउनुभयो ।
उद्घाटनका दिन अर्थात पहिलो खेलमा अमरदह ढल्के जोवन युवा क्लव आयोजकको बि टिम र इयामथुम क्लव मादी सङ्खुवासभा बिचको खेल हुनेछ । गोल्डकपमा प्रदेश १ का जम्मा १६ वटा टिम सहभागी रहेका छन् । विजेताले २ लाख ११ हजार र उप बिजेताले १ लाख ५१ हजार ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछन् । यस अघि पनि विभिन्न सामाजिक काममा सक्रिय रहेको अमरदह ढल्के जोवनले समापनका दिन विरेन्द्र सार्वजनिक माविमा छात्राहरुका लागि अटोमेटिक सेफ्टी प्याड मेसिन प्रदान गर्ने तयारी गरेको छ ।