संकटालाई टाइब्रेकरमा हराउँदै पुलिस फाइनलमा, बिहिवार आर्मी र थ्री स्टार भिड्ने

संकटालाई टाइब्रेकरमा हराउँदै पुलिस फाइनलमा, बिहिवार आर्मी र थ्री स्टार भिड्ने

झापा–सिएमजी क्लब संकटालाई टाइब्रेकरमा हराउँदै नेपाल पुलिस क्लब काँकडभिट्टामा जारी मेचीनगर गोल्डकपको फाइनल पुगेको छ । निर्धा्रित समय १–१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिस ४–३ ले विजयी भएको थियो ।

टाइब्रेकरमा पुलिसका परिवर्तित गोलकिपर रोशन खड्का नायक बने । उनले संकटाका दुई पेनाल्टी रोके । टाइब्रेकरमा पुलिसका लागि अजित भण्डारी, भरत शाह, तीर्थबहादुर राना र हरि कठायतले गोल गरे । सुमन लामाको प्रहारलाई संकटाका गोलकिपर राजाबाबु थापाले रोके ।
संकटाका अमित तामाङ, टम्पी अर्नेस्ट , दिपेश आले मगरले मात्र गोल गरे । रोमन लिम्बू र लक्ष्मण रुचालको प्रहारलाई गोलकिपर रोशनले रोके ।

मानबहादुर तामाङको गोलबाट पुलिसले अग्रता लिएको थियो । ७२ औं मिनेटमा संकटाका गोलरक्षक राजाबाबु थापाबाट रिबाउण्ड भएको बललाई उनले गोलमा परिणत गरेका थिए । पुलिस अन्तिम तीन मिनेट सम्हालिन नसक्दा खेल टाइब्रकरमा पुगेको थियो । निर्धा्रित समय सकिन ३ मिनेट बाँकी रहँदा संकटाका फोफोना फोडेले हेडरबाट गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए ।

खेलमा दुवै टोलीले केहि अवसर पाएरपनि सदुपयोग गर्न सकेनन् । पाँचौं मिनेटमा संकटाका सुबास गुरुङले पाएको पहिलो अवसर गोलपोष्ट नजिकबाट बाहिरियो । १७ औँ मिनेटमा विदेशी खेलाडी इकेने क्रिशियनको बाइसाइकल किक पोष्ट माथिबाट बाहिरियो ।
४१ औँ मिनेटमा फोफोना फोडेको हेडर गोलरक्षक शत्रुधन चौधरीको हातबाट फुत्किएको बललाई क्रिसियनले सदुपयोग गर्न सकेनन् ।

खेलको १९ औँ मिनेटमा संकटाका गोलरक्षक राजाबाबु थापाको हातबाट फुत्किएको बललाई पुलिसका सुमन लामा सदुपयोग गर्न सकेनन् । २१ औँ मिनेट प्रहरीका रवि पासवानको क्रस रेजिन सुब्बाले भेटन नसक्दा अग्रता बनाउने मौका गुमायो ।

२५ औँ मिनेटमा रेजिनको प्रहार संकटाका गोलरक्षकले मुस्किलले बचाए । ५९ औ मिनेटमा रविको प्रहार संकटाका गोलरक्षक राजाबाबुले पञ्च गरेर बाहिर पठाइदिए । ६० औँ मिनेटमा सुमन लामालाई फाउल हानेपछि संकटाका क्रिसियनले पहेँलो कार्ड पाए । ७९ औ मिनेटमा संकटाका दिपेश आले मगरले पहेलो कार्ड पाए ।

पुलिसका मानबहादुर परियार खेलको म्यान अफ दि म्याच चुनिदै नगद ११ हजार प्राप्त गरे । बिहीबार प्रतियोगिताको दोस्रो सेमिफाइनलमा साविक विजेता त्रिभुवन आर्मी क्लब र रुस्लान थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित खवर