९५ प्रतिशत् काम सकियो 

९५ प्रतिशत् काम सकियो 

भीमराज अधिकारी, पथरी

विकासका काममा सम्पूर्ण योजना सम्पन्न गर्न नसकेर विकास बजेट त्यसै खेर जाने गरेको पाइन्छ । मोरङको पथरीशनिश्चरे ५ मा भने आर्थिक वर्ष सकिन करिब ३ महिना बाकीँ रहँदा ९५ प्रतिशत् काम सकिएको छ । वडाले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै योजना तथा बजेटका बारेमा जानकारी गराएको हो ।

नगरबाट विनियोजन भएको ८५ लाख सिलिङ बजेट मध्ये ६७ लाख ५० हजार विकास बजेटका लागि विनियोजन भएको थियो । विकास बजेटबाट जम्मा २० वटा योजनाहरु सञ्चालन गरिएकोमा ९५ प्रतिशत् भन्दा पनि वढि काम सम्पन्न भएको वडा अध्यक्ष जोग बहादुर धिमालले बताए । २० वटा मध्ये १८ वटा योजनाहरु पूर्ण रुपमा सम्पन्न भएको र २ वटा योजनाको पनि केही प्रतिशत् मात्रै काम बाकीँ रहेको धिमालले बताए । अबको हप्ता दश दिनमा नै सञ्चालनमा रहेका योजनाहरु पनि सम्पन्न गरिने पनि धिमालले जानकारी दिए । “वडामा अधिल्लो वर्ष काम गर्नका लागि निकै कठिनाइहरु भएको थियो तर यो वर्ष हामीले सजिलै योजनाहरु सम्पन्न गरेका छौँ” धिमालले सुनाए । पहिलो वर्ष  सिक्ने क्रममा भएकाले पनि काम गर्न असहज भएको धिमाललको भनाइ छ । वडाले आगामी दिनमा अझ प्रभावकारी रुपमा काम गर्ने योजना बनाएको छ तर कर्मचारी अभाव हुदाँ बेलाबेलामा समस्या हुनेगरेको धिमालको भनाइ छ ।

वडामा योजना देखि हरेक क्षेत्रमा वडा सदस्यहरुले समय दिइरहेका छन् । नगरमा दिनहु जस्तो मिटिङ बैठक पर्ने गरेकाले वडाका आउने समस्यामा आफु सधैँ लागि परेको वडा सदस्य चेतेन्द्र खड्काले बताए । “यो वर्ष हामीलाई काम गर्न निकै सजिलो भयो । अध्यक्ष ज्यूले नगरमा हुने सबै काम हेर्नुहुन्छ हामी सदस्यहरु दिनरात नभनि खटिरहेका छौँ” खड्काले भने । पहिलो वर्ष योजना सञ्चालन गर्दा लफडा नै परेको खड्काको भनाइ छ । यो वर्ष भने सजिलै काम सम्पन्न भइरहेको खड्काको भनाइ छ । वडामा भएका विद्यालयको शिक्षा र स्वास्थ्यमा पनि वडाले निगरानी बढाएको खड्काको भनाइ छ । खड्काले भने “सकेसम्म नगरको उत्कृष्ट वडा बनाउने लक्ष्य राखेका छौँ । सबैले साथ दिएमा हाम्रो वडा निकै अगाडी उठ्छ ।”

वडाले हाल सञ्चालन गरिरहेका काम सम्पन्न हुन बाकीँ रहेका दुई वटा योजना मध्ये पथरी डायनीया सडकको स्तर उन्नती र तोर्ण बहादुर थापाको घर पूर्व बक्राहा पैनी मर्मत गर्नेकाम रहेको छ । पथरी डानीया सडक स्तर उन्नतीमा सुनवर्षी नगरपालिकाको सिमाना बराल टोल देखि हसन्दह बजार सम्मको करिब ३ कि.मी बाटोको काम भइरहेको छ । ५२ फुट बाटो बनाएर दुवै साइडबाट माटो पुर्ने र बाटोमा पर्ने रुख कटान तथा सो को जरा उखल्ने समनको काम भइरहेको उपभोक्ता समिति अध्यक्ष बम बहादुर बस्नेतले बताए । काम भइरहेको तर बजेट अलिक कम भएका कारण काम गर्न समस्या भएको पनि बस्नेतको भनाइ छ । हसन्दह बजार क्षेत्रमा बस्नेतकै नेतृत्वमा यस अघि नै बाटोको स्तर उन्नती र माटो पुर्ने, ग्राभेलको काम भइसकेको छ ।

वडाले अन्य वडाको तुलनामा मनग्गे आमदानी पनि गरिरहेको छ । वडाले आ.व ०७५/०७६ को साउन देखि चैत्र सम्ममा सिफारिस दस्तुरबाट ४ लाख ७४ हजार ०५९ रुपैया, नाता प्रमाणितबाट २ हजार ४२० रुपैया, घटना दर्ता शुल्कबाट १७ हजार ९००, अन्य दस्तुरबाट १४ हजार ९४० र एकिकृत सम्पति करबाट ७ लाख ३३ हजार ४३३ रुपैया सङ्कलन भएको वडा सचिव खड्ग नारायण श्रेष्ठले जानकारी दिए । नागरले विनियोजन गरेको विभिन्न शीर्षकहरु जस्तो यातायात, सञ्चार, पत्रपत्रिका खरिद, अफिस व्यवस्थापन लगाएतका शीर्षकमा निकै कम मात्रामा खर्च भएको पनि श्रेष्ठले जानकारी दिए ।



सम्बन्धित खवर