विभागीय त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै दाउफिन्स तेस्रो संस्करणको मनमोहन मेमोरियल दुहवी गोल्डकपको च्याम्पियन बनेको छ ।
सुनसरीस्थित दुहवी रंगशालामा शनिबार भएको फाइनलमा दाउफिन्सले आर्मीलाई सडनडेथमा ८–७ ले पराजित गर्दै च्याम्पियन बनेको हो । मोफसलमा दाउफिन्सको यो पाँचौ उपाधि हो । यसअघि दाउफिन्सले मनकामना केवलकार पोखरा कप, बुढा सुब्बा गोल्डकप, तिलोत्तमा गोल्डकप र माइभ्याली गोल्डकपको उपाधि जितेको थियो ।
निर्धा्रित समयको खेल बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । त्यसमा पनि नतिजा निस्कन नसकेपछि खेल सडन डेथमा धकेलिएको थियो । सडनडेथमा आर्मीका विकास खवासले गोल गर्न सकेनन् ।
उपाधिसँगै दाउफिन्सले ६ लाख रुपैया प्राप्त गर्दा दोस्रो भएको आर्मीले ३ लाख रुपैयामा चित्त बुझायो । आर्मीका सन्तोष तामाङ प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिए । उनले २५ हजार रुपैयाँका साथै ३२ इन्चको एलइडी टीभी पाए । सर्वा्धिक गोलकर्ता बनेका आर्मीका टेक बहादुर बुढाथोकीले २० हजार रुपैयाँ पाए ।
व्यक्तिगत विधातर्फ गोलरक्षकमा दाउफिन्सका प्रिसो, डिफेन्समा आर्मीका विकास खवास, मिडफिल्डमा दाउफिन्सका ओंगुइन जुनियर, फरवार्डमा आर्मीका कप्तान भरत खवास, प्रशिक्षकमा दाउफिन्सका वाम्वा र उदियमा खेलाडीमा आयोजक इलेभेन एरोजका शंकर चौधरी चुनिए । सबैले जनही १५–१५ हजार रुपैयाँ पाए ।