नयाँ वर्ष २०७६ देखि पाथीभरामा केबलकार निर्माण सुरु

नयाँ वर्ष २०७६ देखि पाथीभरामा केबलकार निर्माण सुरु

ताप्लेजुङ, ताप्लेजुङमा अवस्थित प्रशिद्ध तिर्थस्थल पाथीभरामा आगामी नयाँ वर्षदेखि नै केबलकार निर्माणको थालनी हुनेभएको छ । पाथीभरा माता देवी दर्शन केबलकार प्रालिद्धारा आगामी २०७६ सालदेखि नै निर्माणको कार्य थालनी हुने भएको हो । पाथीभरामा केबलकार निर्माणका लागि पाथीभरा माता देवी दर्शन केबलकार प्रालि र त्रिवेणी केबलकार प्रालिले प्रतिस्पर्धा गरिरहेका थिए । निर्माणका लागि पहिले प्रक्रिया अघि बढाएको त्रिवेणीले हात झिके संगै पाथीभरा माता देवी दर्शन केबलकार प्रालिलाई निर्माणको बाटो खुलेको हो ।

‘केहि दिन अघि मात्रै दुई कम्पनीबीचको विवाद टुंगिएको छ, अब आउने नयाँ वर्षदेखि नै काम सुरु गर्ने तयारी छ’– पाथीभरा माता देवी दर्शन केबलकार प्रालिका कार्यकारी निर्देशक ईश्वरी पौडेलले भने । त्रिवेणीका प्रबन्ध निर्देशक सुवास सांघाईले आफ्नो कम्पनी निर्माणका लागि नआउने जानकारी दिए । केबलकार निर्माण प्रक्रियाका विषयलाई लिएर दुई कम्पनीहरुबीच मुद्धा मामिला नै चलेको थियो । पछिल्लो पटक पाथीभरा माता देवी दर्शन केबलकार प्रालि विरुद्ध अदालत सम्म पुगेको त्रिवेणीले मुद्धा फिर्ता लिएर पाथीभरामा केबलकार निर्माणबाट अलग्गिएको हो ।

गएको जेठमा फुङलिङ नगरपालिकाको बैठकले पाथीभरा माता देवी दर्शन प्रालिलाई निर्माणका लागि अनुमति दिने निर्णय गरेको थियो । (केबलकार) अनुमति सम्वन्धी कार्यबीधि पारित गरेको नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (६) बमोजिम अनुमति दिएको उल्लेख गरेको छ । त्यहि कार्यबीधिका आधारमा नगरपालिकाले ११ लाख रुपैँया राजश्व समेत लिएको बताईएको छ ।

यस्तै मन्त्री परिषदको बैठकले समेत पाथीभरा माता देवी दर्शन केबलकार प्रालिलाई केबलकार निर्माण हुने क्षेत्रको सार्वजानिक जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । यिनै निर्णयका विरुद्ध त्रिवेणी अदालत सम्म पुगेको बताईएको छ । पाथीभरा माता देवी दर्शन केबलकार प्रालिले भालुगौँडेको पुर्व पट्टि पर्ने फुङलिङ नगरपालिका–११ साविकको फावाखोला गाविसलाई मात्रै छोएर निर्माणको प्रस्ताब गरेको छ । उक्त प्रस्ताब अनुसार ४.९७ हेक्टर क्षेत्रफल जमिन प्रयोग हुन्छ ।

सम्बन्धित खवर