सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर

सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर

ओखलढुंगा, मोलुङ गाउँपालिका २ बरुणेश्वरको एक सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर गएको छ। महभीर हरियाली लाकुरीबोट सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर गएको स्थानीयले बताए। सोमबार बिहानैदेखि लागेको आगोले धेरै वन क्षेत्र जलिसकेको छ।

बारीमा झार जलाउँदा सल्किएको आगो वन क्षेत्रमा प्रवेश गरेर आगलागी भएको स्थानीय नबराज दाहालले बताए। स्थानीय र प्रहरीले आगो नियन्त्रणको प्रयास गरे पनि असफल भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।

आगलागीबाट सयौं रोपनी सामुदायिक वन जलेर नष्ट भएको छ। अप्ठेरो भीर भएको र सल्ला तथा सालको पत्कर धेरै भएकाले आगो नियन्त्रणमा कठिनाइ भएको डिभिजन वन कार्यालयका प्रमुख सन्तमाया श्रेष्ठले बताइन्।

उनले वनका कर्मचारी र प्रहरीसँगको सहकार्यमा आगो नियन्त्रण प्रयास जारी रहेको जानकारी दिइन्। डिभिजन वन कार्यालयले आगो लगाउने पहिचान गरेर कारवाही गर्ने जनाएको छ।

सम्बन्धित खवर