अनन्तको निर्णायक गोलसँगै रुस्लान थ्रीस्टार सेमीफाइलनमा

अनन्तको निर्णायक गोलसँगै रुस्लान थ्रीस्टार सेमीफाइलनमा

झापा–रुस्लान थ्रीस्टार क्लब माईभ्याली फुटबल क्लबलाई पराजित गर्दै मेची नेत्रालय मेचीनगर गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

थ्री स्टारको १–० को जितमा डिफेन्डर अनन्त तामाङले निर्णायक गोल गरे । खेलको ४१ औ मिनेटमा उनले गोल गरेका थिए । शुशिल राईको प्रहार माईभ्यालीका गोलरक्षक सोजित गुरुङबाट रिवाउन्डमा आएपछि अनन्तले गोल गरेका थिए । फाइनल प्रवेशका लागी थ्रीस्टारले अब विभागीय टिम त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको १७ औँ मिनेटमा माइभ्यालीका स्ट्राइकर राजिव लोप्चनको प्रहार गोलपोष्ट माथिबाट बाहिरियो । ३० औं मिनेटमा कप्तान मनिष थापाको क्रसमा टु भर्सेस वानको अवस्थामा लोप्चनले पोष्टको दिशा दिन सकेनन् । ३४ औँ मिनेटमा सुशिल यादवको क्रसमा लोप्चनले अर्काे मौकालाई खेर फाले । ४५ औँ मिनेटमा थ्रीस्टारका कप्तान विक्रम लामालाई फाउल हानेपछि माईभ्यालीका कप्तान मनिष थापाले पहेँलो कार्ड पाए । खेलको २२ औँ मिनेटमा थ्रीस्टारका सुनिल बलको क्रसमा एलोन म्याक्सवेलको प्रहार आकासियो । पहिलो हाफभरी माईभ्यालीले थ्रीस्टारलाई पूर्ण रुपमा दवावमा राख्यो । अधिकांश पोष्ट केन्द्रीत आक्रमण गरे पनि स्कोर गर्न सकेन ।

खेलको दोस्रो हाफको पहिलो मिनेटमा थ्रीस्टारका विदेशी खेलाडी एलोन म्याक्सवेलको प्रहारले पनि जाली चुम्न सकेन । ८ औँ मिनेटमा मनसा वेभागुइको प्रहार पनि पोष्ट माथिबाट बाहिरियो । खेलको २९ औँ मिनेटमा थ्रीस्टारका रुपेश केसीको क्रसमा सुशिल राईको हेडरले समेत पोष्टको गन्तव्य पुरा गर्न सकेन । दोस्रो हाफमा लयमा फर्किएको थ्रीस्टारले अनन्तको गोलले सेमीफाइनलको यात्रा तय गरेको हो । खेलको म्यान अफ द म्याच थ्रीस्टारका सुशिल राई भए ।

बुधवारको पहिलो सेमीफाइनल खेलमा विभागीय टीम नेपाल पुलिस क्लबले सीएमजी संकटाको सामान गर्नेछ । पुलिस पारो एफसीमाथि ३–० को सहज जीत निकाल्दै सेमीफाइनल पुगेको थियो । यता संकटाले आयोजक मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरमाथि ४–१ को गोल अन्तरले हराउँदै सेमीफाइनलमा स्थान पक्का गरेको थियो । २१ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख १ हजार तथा उपविजेता टिमले नगद ५ लाख १ हजार पाउने छन ।

 

सम्बन्धित खवर