खोटाङमा शिक्षक नहुँदा तीन विद्यालय बन्द हुने अवस्थामा

खोटाङमा शिक्षक नहुँदा तीन विद्यालय बन्द हुने अवस्थामा

खोटाङ– शिक्षक नभएका कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका तीन विद्यालय बन्द हुने अवस्थामा पुगेका छन्। शिक्षक नहुँदा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा रहेको जालन्धर प्रावि, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा रहेको बालकन्य प्रावि र डिकुवाकै बरगाछी प्रावि चैतदेखि शिक्षकविहीन बनेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

एक मात्र दरबन्दीमा कार्यरत शिक्षकले चैत ३ गतेदेखि अवकाश पाएपछि जालन्धर प्रावि र बालकन्य प्रावि शिक्षकविहीन बनेको हो । यस्तै, कार्यरत शिक्षक सेवा आयोगमार्फत स्थायीमा नाम निकालेर दाम्ली मावि डिकुवामा सरुवा लिएपछि बरगाछी प्रावि शिक्षकविहीन बनेको श्रोत व्यक्ति नयनकुमार राईले जानकारी दिए । शिक्षक नहुँदा विद्यार्थी भर्ना अभियान र पाठ्यापुस्तक वितरणका काम प्रभावित भएको छ ।

जिल्ला शिक्षा समन्वय इकाईको कार्यालयले स्थायी शिक्षक पठाए पनि रिक्त दरबन्दीमा शिक्षक नपठाउँदा समस्या उत्पन्न भएको मेयर राईले बताए ।

सम्बन्धित खवर