च्यासललाई १−० ले  पराजित गर्दै धरान क्वाटरफाइनलमा

च्यासललाई १−० ले   पराजित गर्दै धरान क्वाटरफाइनलमा

‘ए’ डिभिजन क्लब ललितपुरको भ्याली च्यासल युथ क्लबलाई पराजित गर्दै धरान फुटबल क्लब काँकरभिट्टामा जारी चौथो मेची नेत्रालय मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रवार काँकरभिट्टामा माविको खेल मैदानमा सम्पन्न खेलमा धरानले च्यासल युथ क्लबलाई १−० गोल अन्तरले पाखा लगाउँदै क्वाटरफाइन प्रवेश गरेको हो । अब क्वाटरफाइनलमा धरानले विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

धरानको जितमा ८१औं मिनेटमा मिलन राईले गरेको गोल नै निर्णायक बन्यो । उनले विदेशी खेलाडी अनिफोवासेको पासमा मैदानको मध्य भागबाट एकल प्रयासमा सानदार गोल गरेका थिए । च्यासल विरुद्ध रक्षात्मक खेलेको धरानका मिलन राईले ६६औँ मिनेटमा डी एरियाबाट गरेको प्रहार बार नजिकैबाट बाहिरियो । ७५औँ मिनेटमा धरानका विदेशी खेलाडी अनिफोसेले च्यासलका गोलरक्षक दिनेश थापामगर बिट भइसकेको अवस्थामा गरेको प्रहार आकाशियो ।

निर्धा्रित ९० मिनेटभरी च्यासलले बललाई आफ्नो पकडमा राख्न सफल भए पनि उसले गरेका एक दर्जन जति प्रहार गोलमा परिणत हुन सकेका थिएनन् । च्यासलमा दुई सशक्त प्रहार पोष्ट बारमा लागेर फर्कियो । खेलको २०औं मिनेटमा च्यासलका लागि विदेशी खेलाडी फ्रान्सिस ओएमीको प्रहार बारमा लागेर फर्किएको थियो ।

२१औँ मिनेटमा ओइमीकै अर्काे प्रहार पोष्ट नजिकैबाट बाहिरीएको थियो । २२ औँ मिनेटमा च्यासलका अर्का विदेशी खेलाडी अर्मान्डले डी एरियाबाट गरेको प्रहार धरानका गोल रक्षक विनय श्रेष्ठले उत्कृष्ट बचाउ गरे । ८४औँ मिनेटमा च्यासलका ओएमीले गरेको प्रहार पोष्टमा लागेर बाहिरीदाँ खेलमा बराबरी गर्ने अवसरबाट बञ्चित भएको थियो ।

खेलको म्यान अफ द म्याच खेलमा एक मात्र निर्णायक गोल गर्ने धरानका मिलन राई घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए । शनिवारको पहिलो क्वाटरफाइनल खेल आयोजक काँकरभिट्टा फुटबल टे«निङ सेन्टर र संकटा क्लब काठमाडौँबीच हुने आयोजक क्लबका सचिव अशोक राईले बताए ।

प्रतियोगिताको विजेता टीमले नगद १० लाख १ हजार र उप विजेता टीमले नगद ५ लाख १ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको फाइनल खेल २१ गते हुनेछ ।

सम्बन्धित खवर