खोटाङमा निमोनियाका कारण वडाध्यक्षको मृत्यु

खोटाङमा निमोनियाका कारण वडाध्यक्षको मृत्यु

खोटाङ– साकेला गाउँपालिका–३ खिदिमाका वडाध्यक्ष मणिकुमार राईको मृत्यु भएको छ । निमोनियाका कारण ३९ वर्षीय राईको सोमबार साँझ मृत्यु भएको हो ।
गत चैतदेखि बिरामी भएका वडाध्यक्ष उनको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउनेक्रममा सोमबार साँझ बाटैमा मृत्यु भएको हो । सुरुमा रुघाखोकीले थलिएका राईमा विस्तारै विषमज्वर र निमोनिया भएको स्वाथ्यकर्मीले बताएका छन् ।

गाउँमा रहेको स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि दिक्तेल ल्याउने क्रममा सौर्य भन्ने ठाउँमा ल्याइपु¥याउँदा राईको मृत्यु भएको आफन्तले बताएका छन् । उनको बाटैमा मृत्यु भएपछि आफन्तले गएराति नै घर फर्काएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झकार’ले बताए ।

श्रद्धाञ्जलिका लागि जिल्लास्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला नेता कार्यकर्ता स्वर्गीय वडाध्यक्ष राईको घर पुगेका छन् । श्रद्धाञ्जलिसभापछि आजै उनको दाहसंस्कार गरिएको छ ।
तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा विजयी राई उक्त पार्टीका जिल्ला सदस्य थिए । पार्टीका युवा तथा विकासप्रेमी नेता गुमेकोप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ ।

सम्बन्धित खवर